नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरंकुशताविरुद्ध डटेर लाग्नुपर्ने बताएका छन्। समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई सम्बोधन गर्दै उनले निरंकुशताविरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताएका हुन्।
सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन उनले सबै पार्टीपंक्तिलाई निर्देशनसमेत दिए। अध्यक्ष नेपालले अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन कम्युनिस्ट नामका दलहरू सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाब दिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पुर्याउन संगठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिए।