झलनाथ खनाल पार्टी काममा सक्रिय

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण

२७ कात्तिकमा नेकपा एसको केन्द्रीय कमिटी बैठक 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल साढे चार महिनापछि पार्टी काममा सक्रिय भएका छन् । पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा सोमबार दिउँसो आफ्नै अध्यक्षतामा विदेश विभागको पहिलो बैठक राखेर खनाल पार्टी काममा पुनः सक्रिय भएका हुन् ।

त्यसक्रममा खनालले विभागका सदस्यहरूसँग आगामी कामबारे छलफल गर्नुका साथै पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएको उपमहासचिव तथा प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले बताए । 

गत २० साउनमा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरूको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए । मिर्गौला उपचारका क्रममा सुरुमा काठमाडौंस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरूको रायका आधारमा थप उपचारका निम्ति २ असारमा खनाल दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।

मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट १४ भदौमा स्वदेश फर्किएका थिए । चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधिभर उनी कुनै पनि कार्यक्रममा उपस्थित भएनन् । अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा खनाल नजाने, तर पार्टीका आन्तरिक गतिविधिमा भने सहभागी हुने खतिवडाले जानकारी दिए । पार्टी गठनपछि एउटा सचिवालय बैठकमा मात्र उपस्थित भएका खनाल पहिलोपटक कार्यालय आएका हुन् । एकीकृत समाजवादीले २७ र २८ कात्तिकमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

सुझावित समाचार