‘पाँच दलको गठबन्धन लोकतन्त्रको भक्षक’

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलको गठबन्धन लोकतन्त्र मास्ने षड्यन्त्रमा सामेल भएको आरोप लगाएका छन् । ‘अहिलेको पाँच दलीय गठबन्धन भन्ने छ नि बर्को राधेराधे लगाएका हुन् कि, रामराम, कृष्णकृष्ण लगाएका हुन्, यी सबै लोकतन्त्रका भक्षकहरू हुन्, भक्षीहरू हुन्’, पार्टीको कर्णाली–काठमाडौं सम्पर्क कमिटीको शुभकामना आदान–प्रदान कार्यक्रममा ओलीले आईतबार भने,‘यीनीहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा होइन, आफ्नो सत्ता स्वार्थ पूरा गर्नुपरेको छ, देशको स्वार्थ होइन ।’

उनले मुलुकमा एमाले भएकै कारण गठबन्धनले चाहेर पनि सत्र साल दोहोरिन नसकेको दाबी गर्दै फेरि पनि अदालतबाट परमादेश आउनसक्ने सम्भावना भए पनि आफ्नो पार्टीले लोकतन्त्रको रक्षा गरेरै छाड्ने प्रतिबद्धता जनाए । ‘एमाले हुँदैनथ्यो भने सत्र साल अस्ति नै आइसक्थ्यो । तर यहाँ एमाले छ त्यसकारण सत्र साल आउन सक्दैन । ७ सालपछि सत्र साल आइहाल्यो नि । संविधान भनेको पुस्तक हो, बलजफ्ती ग¥यो भने च्यात्न कतिबेर लाग्दैन’, ओलीले भने, ‘तर जनता सचेत छ भने सचेत जनताको मनोवल अठोट च्यात्न सकिदंैन । प्रतिगामी परमादेश अनेक आउनसक्छन् तर हामी सरकार छोड्न तयार छौं, तर देशलाई तलमाथि हुन दिँदैनौं, संविधान च्यात्न दिँदैनौ । लोकतन्त्र तलमाथि हुन दिँदैनौं ।’ 

एमाले सरकारमा हुँदादेखि नै अदालत प्रयोग गरेर षड्यन्त्र भएको दाबी गर्दै ओलीले मिडियामार्फत भइरहेको झुटो प्रचारविरुद्ध हरेक पार्टी कार्यकर्ताले सामाजिक सञ्जालमार्फत खण्डन गर्दै ‘वार’ संचालन गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।अहिले एमालेविरुद्ध गलत प्रचार भइरहेको भन्दै त्यसप्रति सचेत बनेर अगाडि बढ्न ओलीले कार्यकर्तालाई निर्देशन पनि दिए । 

‘सामाजिक प्रवन्धका लागि राज्य व्यवस्था बनेको हुन्छ । तर कहिलेकहिले सामाजिक सुप्रबन्धका नाममा समाजलाई अगाडि जान नदिन अर्थात राज्यसत्ता यथास्थितिमा राख्न, आफ्ना हितहरूको सुरक्षा गर्न शासकहरूले दुई प्रकारका प्रबन्ध गरेका हुन्छन् । एउटा, राज्यको प्रबन्ध गरेका हुन्छन् । कम्प्युटरमा हामी हार्डवेयर भन्छौं नि, त्यस्तै राज्यको प्रबन्ध गरेका हुन्छन्, सेना, प्रहरी, अदालत, जेलमार्फत शासन गर्छ, सत्ता टिकाउँछ र आफ्ना हितहरूको रक्षा गर्छ’ ओलीले भने,‘अर्को, कन्ससनेसको एउटा पाटो हुन्छ । त्यो भ्रमपूर्ण चेताना विस्तार गर्छ र योजनावद्ध ढंगले राज्यले गलत विचार÷चेतनाका लागि विशेष पण्डित तयार गरेको हुन्छ । विशेष माध्यम तयार गरेका हुन्छन् । आजको समयमा मान्छेलाई सचेत छु भन्ने लाग्छ । तर सचेत हुन पाएको हुँदैन, सचेत हुन दिइँदैन, मार्फत आफनो हित, आफ्नो समुदायको हित, ठाउँको हित कसरी हुन्छ भन्नेबाट अलग राख्छ, ता कि विद्रोह नहोस्, आन्दोलन नहोस्, परिर्वतन नहोस्, समाजलाई यथास्थितिमा आफ्ना हितहरू अगाडि बढाउन सकियोस् ।’ सम्बोधनकै क्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईमाथि पनि कटाक्ष गरे । 
 

सुझावित समाचार