न्यायपालिकाको समस्या सरकारले समाधान गर्नुपर्छ : प्रकाशमान सिंह

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका हुन् । 

उनले न्यायालयमा भएको बेथितिलाई गठबन्धन सरकारले हटाउनुपर्ने पनि बताए । उनले न्यायालयको यो अवस्था भइसक्दासमेत राजनीतिक दलका नेताहरूले न्यायालयमा दखल गर्नुहुँदैन भनेर बस्न नमिल्ने उनको भनाइ छ । 

सिंहले भने, ‘नेताहरू न्यायालयमै गर्नुपर्छ भन्छन्, पार्टीहरूले दखल नै दिनुहुँदैन भनेर बोलिराछन् । सरकार, गठबन्धन, अनि न्यायालयमा भएको बेथितिमा यो सरकारका नेताहरूले करेक्सन नगरे कसले गर्छ, कसको जिम्मा त ? कसले प्रधानन्यायाधीशले गर्ने ? जो आफैँ विवादको केन्द्रबिन्दुमा छ, न्यायालयले मात्रै गर्छ ? यो त सरकारको काम हो, सरकारले गर्नुपर्ने काम नगर्ने ? खालि भाग्दै हिँडेर हुन्छ, समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ ।’ 

सिंहले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको पनि बताए । उनले नेपालको त्रुटिपूर्ण व्यवस्थापनका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै सिंहले कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरेकोले आगामी दिनलाई हेरेर काम गर्नुपर्ने बताए । 

सिंहले कांग्रेसको कलहका कारण कम्युनिस्टहरूलाई फाइदा भएको पनि बताए । उनले आफूले पार्टी सभापतिमा दाबी गर्दा गलत प्रचार गरिएको गुनासोसमेत गरे । उनले धाँधलीरहित प्रतिस्पर्धामा उत्रिन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए ।
 

सुझावित समाचार