कानुन व्यवसायीहरूले अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बर्हिगमनका लागि थप समय दिन नसकिने निष्कर्ष निकालेका छन्। कानुन व्यवसायीहरूको सर्वोच्च संस्था नेपाल बार एसोसियसनको पहिलो चरणको आन्दोलनका कार्यक्रम सकिएसँगै बदलिएर आएको अवस्थामा पनि जबरालाई न्यायिक नेतृत्वमा स्वीकार गर्न नसकिने बारका पदाधिकारी र पूर्वपदाधिकारीले निष्कर्ष निकालेका हुन्।
नेपाल बारका महासचिव लिलामणि पौडेल पहिलो चरणको आन्दोलनपछि पनि प्रधानन्यायाधीशको बर्हिगमनको विकल्प नदेखिएको बताँउछन्। उनी तिहार बिदाको समयमा पनि आन्दोलनलाई निरन्तरता दिने र तिहारपछिको आन्दोलनको रूपरेखा तयार पारी सशक्त आन्दोलन गरिने बताउँछन्।
नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीशले नैतिक, कानुनी र संवैधानिक आधार गुमाइसकेको टिप्पणी गर्छन्। उनी प्रधानन्यायाधीश जबरा अब पनि राजनीतिक नेताले जसरी संवैधानिक तवरबाट मात्रै बाहिरिन्छु भन्नुमा तुक नरहेको तर्क गर्छन्। ‘जबरालाई पदमा बसिरहने कानुनी, नैतिक र संवैधानिक कुनै आधार छैन। अविलम्ब राजीनामा दिनुपर्छ,’ अधिवक्ता भट्टराईको टिप्पणी छ।
सम्मााजनक बर्हिगमनः अविलम्ब राजीनामा
वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वउपाध्यक्ष डा. कुमार शर्मा आचार्य अब प्रधानन्यायाधीशमाथिको विश्वास गुमिसकेको मत राख्छन्। ‘अब उहाँको लागि समय छैन। राजीनामा गर्न जति ढिलो हुन्छ त्यति व्यक्तित्वको क्षयीकरण हुँदै जान्छ,’ उनले भने, ‘विवेक पुर्याउनुहोस् चर्को आन्दोलनलाई अमन्त्रण नगर्नुहाेस्। प्रधानन्यायाधीश बदलिएर आन्दोलन रोकिँदैन।
नेपाल बारकी उपाध्यक्ष रक्षा बस्याल न्यायालयको विकृति विसंगति अन्त्य गर्ने द्वार नै प्रधानन्यायाधीशको राजीनामा भएको बताउँछिन्।‘राजीनामा गरेर सम्मानजनक बहिर्गमन हुनुहोस्’, उनी सुझाब दिन्छिन्। बारका अर्का उपाध्यक्ष मानबहादुर रुम्दाली राई संविधानले गरेको व्यवस्थाअनुसार राजीनामा पनि संवैधानिक रूपमा सम्मानजनक बहिर्गमन भएको तर्क गर्छन्। ‘संविधानले गरेको व्यवस्थाअनुसार राजीनामा पनि संवैधानिक रूपमा सम्मानजनक बहिर्गमन हो,’ उनको तर्क छ।
कानुन व्यवसायीहरू अहिलेको अवस्था न्यायालयको इतिहासमा लज्जास्पद स्थिति भएको बताँउछन्। प्रधानन्यायाधीशकै कारण न्याय निरूपण अवरुद्ध बन्न पुगेको उनीहरूको निष्कर्ष छ। ‘हामीले सहेर बस्न सक्दैनौँ। जबरा नेतृत्वमा एक निमेष पनि बस्न मिल्दैन। ढिलाइ भए उहाँकै लागि घातक हुन्छ,’ ललितपुर जिल्ला अदालत बार इकाइका अध्यक्ष अर्जुन महर्जन भन्छन्। विशेष अदालत बार एसोसिएसन इकाइ अध्यक्ष चूडामणि पौडेल कानुन व्यवसायीको आवाज नसुने न्यायालयको नेतृत्वलाई प्रत्युत्पादक हुने चेतावनी दिन्छन्। ‘प्रधानन्यायाधीशले राजीनामा नदिए सम्माननजनक बर्हिगमन हुन सक्दैन,’ उनी भन्छन्।