कैदी अभिषेक गिरी मोरङ कारागार स्थानान्तरण : असुरक्षा बढ्यो भन्दै कैदीबन्दी आन्दोलित

गृहमन्त्री बालकृष्ण खाँडले घरपायक हुने गरी गिरीलाई स्थानान्तरण गराएको कैदीबन्दीको आरोप

बुधबार, १७ कार्तिक, २०७८
डिजिटल संस्करण

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई स्थानान्तरणको विरोधमा मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । विराटनगर महानगरपालिकाको मधुमारा घर भएका गिरीलाई घरपायक कारागारमा सारेपछि असुरक्षा बढेको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन् । 

अभिषेक गिरी

कैदीबन्दीले गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा गिरीको कारागार सरुवा भएको आरोप लगाएका छन् । गिरीलाई मंगलबार बिहान ५ बजे मोरङ कारागार ल्याइएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । विराटनगर हाटखोलास्थित मोरङ कारागारका कैदीबन्दीले मंगलबार बिहानैदेखि कारागारको छतमा बसेर नाराबाजी गर्दै दिनभरि प्रदर्शन गरे । गत असोजमै गिरीलाई काठमाडौंबाट मोरङ स्थानान्तरण गर्ने तयारी थियो । यो थाहा पाएपछि गिरीलाई ल्याए असुरक्षा बढ्ने भन्दै कैदीबन्दीका आफन्तले गत १९ असोजमा मोरङ जिल्ला कारागारअगाडि प्रदर्शन गरेका थिए । त्यसपछि गिरीको स्थानान्तरण स्थगित भएको थियो । यसपटक गिरीलाई ल्याउनुअघि मोरङ कारागारका चौकीदार नवीन राईलाई सुनसरीस्थित झुम्का कारागार स्थानान्तरण गरिएको थियो ।

मोरङ कारागारका निमित्त जेलर पोखरेलले काठमाडौंबाट अभिषेक गिरीसहित चार कैदीलाई मोरङ सरुवा गर्ने सर्कुलर विभागले पठाएको जानकारी दिए । व्यक्ति अपहरण र फिरौती असुली मुद्दामा काठमाडौं जिल्ला अदालतले गिरीलाई आठ वर्ष कैद सजाय तोकेको थियो । अदालतको फैसलापछि डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका गिरीले कांग्रेस नेतृत्वको सरकार आएपछि घरपायक स्थानान्तरणका लागि पहल थालेका थिए । उनलाई घरपायक सरुवा गराउन गृहमन्त्री खाँडले नै निर्देशन दिएको स्रोतको दाबी छ । नेपाली कांग्रेस समर्थक गिरी विराटनगरमा गुन्डागर्दीका लागि चर्चित थिए ।

गिरीको क्राइम डायरी 
विराटनगरमा बसेर ठेक्कापट्टाको टेन्डर र अन्य गुन्डागर्दीमा कुख्यात थिए, अभिषेक गिरी । उनी पटक–पटक गुन्डागर्दी आरोपमा पक्राउ परेर छाडिन्थे । गिरीलाई खासगरी निर्माण व्यवसायी र टेन्डर हत्याउन चाहने व्यापारीहरूले पिसी दिएर गुन्डागर्दीमा प्रयोग गराउने गर्थे । सुरुमा अरूको प्रयोगमा आएका गिरीले पछि आफैँ टेन्डर हत्याउने र उद्योगी–व्यवसायीलाई धम्क्याउने र अपहरण गर्ने गरेका थिए । गुन्डागर्दीमा उनको आफ्नै समूह थियो । मोरङमै रहेको पर्शुराम बस्नेत नेतृत्वको अर्को समूहसँग उनको शत्रुता थियो ।

१७ साउन ०६५ मा तत्कालीन जिल्ला विकास समिति मोरङको १० करोडबराबरको टेन्डर काण्डमा विराटनगर महानगरपालिका–१२ जतुवाका युवा करण यादवको हत्या भएको थियो । हत्या–आरोप गिरीमाथि नै लागेको थियो । फरार रहेका गिरी आफैँ अदालतमा हाजिर भएका थिए । त्यसक्रममा २१ साउन ०६६ मा उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । गिरीलाई क्षेत्रीय कारागार सुनसरीको झुम्काबाट पेसीका लागि मोरङ जिल्ला अदालत ल्याउँदा १८ जेठ ०६८ मा अदालत परिसरभित्रै पर्शुराम बस्नेत समूहले सांघातिक आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । आक्रमणपछि सुरक्षाका लागि भन्दै गिरीलाई मोरङ कारागारमा सरुवा गरिएको थियो । कारागारमा रहँदा गिरीले जेलभित्रैबाट चन्दा आतंक चलाएर फिरौती असुल्ने गरेको आरोप पनि लागेको थियो । 

अदालत परिसरमा आफूमाथि आक्रमण गराएको आरोपमा बन्दी गिरी र उनकी श्रीमती अमिषा गिरीले पर्शुराम समूहका २३ जनाभन्दा बढीलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएका थिए । व्यक्तिहत्या अरोपमा जेल परेका गिरी एक वर्षपछि छुटे । कारागारबाट बाहिरिएपछि उनी नेपाली कांग्रेस प्रवेश गरे । त्यसपछि केही महिना शान्त बसेका उनी संविधानसभाको दोस्रो निर्वाचनपछि पुनः पुरानै धन्दामा फर्किए । उद्योगी–व्यापारी र ठेकेदारहरूलाई धम्क्याएर चन्दा र फिरौती उठाउन थालेपछि प्रहरीले खोजी व्यापक बनाएको थियो । फरार रहेका गिरीपछि काठमाडौंबाट पक्राउ परे । गिरीलाई सम्पत्ति शुद्धीकरण विभागले पनि गुन्डागर्दी गरेर अकुत कालो धन जम्मा गरेको आरोपमा मुद्दा चलाएको थियो । तत्काल धरौटी बुझाएर छुटे पनि अदालतको आदेशमा उनी आठ वर्षका लागि कारागार चलान भएका थिए ।

सुझावित समाचार