वाणिज्य बैंकले बोर्डबाट निर्णय गरेर मात्रै निगमको पाँच अर्ब निक्षेप फिर्ता गर्ने

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

तरलता अभाव चर्किरहेका वेला नेपाल आयल निगमले विभिन्न बैंकमा निक्षेप राखेको १८ अर्ब झिक्ने निर्णयले बजार तरंगित बनेको छ । निगमले राष्ट्रिय वाणिज्य बैंकमा पाँच अर्ब निक्षेप राखेको छ ।  निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निक्षेप खातामा राखेकोमध्ये परिपक्व हुने एक अर्ब झिक्ने र बाँकी चार अर्ब परिपक्व हुने समयसम्म कुर्ने निर्णय भएको बताए । ‘हामीले ८ नोभेम्बर (२२ कात्तिक)मा तेल खरिद गरेबापत इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई १४ अर्ब रुपैयाँ पठाउनेछौँ,’ साहले भने, ‘त्यसमध्ये एक अर्ब राष्ट्रिय वाणिज्य बैंकबाट झिक्ने कुरा भइसकेको छ । तेल बेचेर उठेको रकमसमेत गर्दा अपुग हुने थप रकम अन्य बैंकबाट लिनेछौँ ।’ बैंकबाट सबै रकम झिक्न खोज्दा परिपक्व नभएको रकम सामान्य प्रक्रियाबाट झिक्न नमिलेको उनले बताए । 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले परिपक्व हुन बाँकी रकम दिनका लागि नीति बनाउनुपर्ने बताए । ‘हामीले आयल निगमको निक्षेप दिन्न भनेका छैनौँ । उहाँहरूले दुईवटा मुद्दतीमा रकम राख्नुभएको छ । एउटा खाताको भोलिपर्सि नै परिपक्व हुँदै छ,’ सिइओ श्रेष्ठले भने, ‘परिपक्व नभएको मुद्दती झिक्न नीति बनाउनुपर्छ । केही दिन पर्खनुस् भनेका छौँ ।’

रावा बैंकबाहेक निगमले कृषि विकास र नेपाल बैंकमा समान दुई–दुई अर्ब निक्षेप राखेको छ । अन्य वाणिज्य बैंकहरूमा २० देखि ५० करोड रुपैयाँ निक्षेप छ । तेल किनेको पैसा तेल बेचेर तिर्न नपुग्ने भएपछि सबै बैंकलाई निक्षेप झिक्नेबारे निगमले जानकारी गराइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यअनुसार इन्धन खरिद गर्न आयल निगमलाई आइओसीले नयाँ मूल्य पठाएको छ । निगम प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार नयाँ मूल्य प्रतिलिटर पेट्रोल ७.४२, डिजेल ३.९२ र मट्टीतेल ११.४९, हवाई इन्धन ४.११ रुपैयाँ प्रतिलिटर बढेर आएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास दुई सय ४६ रुपैयाँ ९७ पैसा प्रतिसिलिन्डर बढेर आएको छ । ‘नयाँ मूल्य ठूलो अन्तरले बढेर आएको छ । तर, हामीले पुरानै मूल्यमा तेल बेचेका छौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसैले आउँदो १५ दिनमा तीन अर्ब दुई करोड रुपैयाँ नोक्सान हुने देखिएको छ ।’ आयल निगमले हाल दैनिक औसतमा ७० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरिरहेको छ । शनिबार बिदा हुने भएकाले शुक्रबार भने धेरै तेल बिक्री हुने र सो दिन औसतमा ८०–९० करोड रुपैयाँको इन्धन बिक्री हुने गरेको छ । 

सुझावित समाचार