नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै अंगहरूमाथि प्रश्न चिह्न उठेको बताएका छन्। सोमबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो धारणा राखेका हुन्।
संसद्, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरूसमेतले आफ्नो भूमिका प्रभावकारी रूपमा खेल्न नसकेको टिप्पणी गरे। उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो संवाहक बनाउन आफू लागिपर्नेसमेत बताएका छन्। देशमा पार्टी व्यवस्थित रूपमा चल्नुपर्ने, संवैधानिक निकायहरू व्यवस्थित रूपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनले बताए।
‘आज संसद् चल्न नसकेर अस्ति भर्खरै संसद् स्थगित भएको छ । अदालतको त्यो अवस्था छ । अरू संवैधानिक निकायहरू त्यस्तै हालतमा छन् । राजनीतिक पार्टीहरूको त्यो हालत छ । आज राजतन्त्र गइसकेपछि राजनीतिक पार्टीहरू नै नेपाली जनताको भरोसाको केन्द्र हुन् । तर, राजनीतिक पार्टीहरूको अवस्था के छ ? कम्युनिस्ट पार्टीको हालत हामीले देखिहाल्यौँ । त्यत्रो दुईतिहाइ बहुमत ल्याएर पनि त्यो चकनाचुर भएर गइराखेको छ । नेपाली कांग्रेसले पनि जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो नसकेकोमा म आफैँ पनि स्वीकार गर्छु । नेपाली जनतालाई भरोसाको केन्द्र बन्ने भूमिका कांग्रेसले अझै पनि निर्वाह गर्न सकिरहेको छैन । त्यो नसकेको कुरामा मलाई चिन्ता छ । म कांग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाउने, कसरी यो प्रजातन्त्रको दरिलो संवाहक बनाउने, कसरी लोकतन्त्रलाई मजबुद गराएर लोकतन्त्रको वारेस कांग्रेसलाई बनाएर र यो मुलुकमा लोकतन्त्रलाई सुनिश्चित गर्ने । यसका संस्थाहरू त्यहीअनुसार फङ्सनमा आउनुपर्याे । पार्टीको सञ्चालन, अधिवेशनहरू व्यवस्थित रूपले चलेको हुनुपर्याे । देशको संवैधानिक निकायहरू व्यवस्थित रूपले चलेको हुनुपर्याे । राज्यसत्ता सिस्टममा चलेको हुनुपर्याे । देशको अदालत एउटा मर्यादामा रहेको हुनुपर्याे । आज यी सबै कुराहरूमा कहीँ न कहीँ प्रश्न उठिरहेको अवस्था छ,’ उनले भने।
वरिष्ठ नेता पौडेलले नेपालको व्यवस्था अस्थिर हुनाको विडम्बना नेपालले भोगिरहेको भन्दै वर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्ने बताए।