सखुवाको २० थान अवैध चिरान बरामद

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

तस्करले अवैध रूपमा ल्याउँदै गरेको सखुवाको चिरान वन कार्यालयले बरामद गरेको छ। डिभिजन वन कार्यालय लहानले विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका– ८ चोहर्वाको मैनाबती खोलानजिकैबाट अवैध रूपमा ल्याउँदै गरेको सखुवाको चिरान बरामद गरेको हो।

साइकलमा ल्याउँदै गरेको २० थान सखुवाको चिरान र चार थान साइकल बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ। चुरे क्षेत्रको वनबाट अवैध रूपमा तस्करहरूले काठ ल्याउँदै गरेको सूचनाको आधारमा पुगेका सशस्त्र वन रक्षकको टोलीले काठ बरामद गरेको कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए।

वनरक्षकको टोलीलाई देखेपछि तस्करहरू काठ र साइकल छोडेर भागेको प्रमुख दासले बताए। सिराहाको चुरे क्षेत्रमा सालको काठ नभएपछि तस्करहरूले छिमेकी जिल्ला उदयपुरबाट चोरी पैठारी गर्ने गरेको प्रमुख दासले बताए। बरामद भएको चिरान एक लाखभन्दा बढी मूल्यको रहेको बताइएको छ। यस विषयमा थप आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रमुख दासले जानकारी दिए।

सुझावित समाचार