लोकतन्त्र र संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ : वरिष्ठ नेता पौडेल

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले पटक–पटकको आन्दोलन र बलिदानीले प्राप्त भएको लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन्। प्रेस युनियन धनुषाले सोमबार बिहान जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले नेपाली जनताले ७० वर्ष सम्म आन्दोलन र बलिदानी दिएर प्राप्त गरेको लोकतन्त्र र संघीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका हुन्। ‘छिमेकी मुलुक भारतमा सन् १९४७ मा आएको परिवर्तनपश्चात् त्यही व्यवस्थामा भारत अहिलेसम्म चलिरहेको छ, चीनमा पनि एकपटक भएको क्रान्तिपश्चात् आएको व्यवस्थाअनुसार नै चलिरहेको छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘तर, नेपालको विडम्बना के छ भने नयाँ व्यवस्थासँगै अस्थिरता पनि आउने गरेको छ।’

नेता पौडेलले सफल नेतृत्व नभएर कांग्रेस अस्तव्यस्त भएजस्तै परिवर्तनपश्चात् नेतृत्वहरू कुशल नपाएर देश नै अस्तव्यस्त हुँदै आएको टिप्पणी गरे। ७० वर्षसम्मको आन्दोलन र त्यागले हामी आफ्नो देशमा लोकतन्त्र ल्याउन सफल भयौँ,’ नेता पौडेलले भने, ‘तर, यस्तो त्याग र बलिदानीले ल्याएको परिवर्तनलाई संस्थागत गर्ने वेलामा न्यायालयदेखि हरेक संवैधानिक निकायहरूमा भाँडभैलो । सदन पटक–पटक अवरुद्ध गरिन्छ। देशलाई अस्तव्यस्त पारिएको छ। यस्तो अवस्थामा लाग्छ एकपटक फेरि लोकतन्त्रको रक्षाका लागि आमजनताले आगाडि आउनुपर्छ।’

संविधानमा रहेका कमी–कजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता रहे पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भनेजस्तो संविधान संसोधनको आवश्यकता नरहेको नेता पौडेलको भनाइ थियो। संविधान संशाेधनको मुद्दालाई अहिले उचालेको खण्डमा मुलुक अस्तव्यस्तता र द्वन्द्वमा फस्न सक्ने नेता पौडेलले दाबी गरे। 

न्यायपालिकामा देखिएको समस्याबारे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्र छलफल राख्न आग्रह गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, ‘विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्दा भागबन्डाको कुरा आएको छ। त्यसैले हामी यस विषयमा पार्टीभित्र छलफल गर्न र साझा धारणा बनाउन सभापतिज्यूलाई भनेको छु।’ 

पार्टीको महाधिवेशनमा सभापति उम्मेदवारको आकांक्षी रहेका बताउँदै पौडेलले भने, ‘समावेशी र समानुपातिकमा कांग्रेस अन्य पार्टीभन्दा अब्बल छ। त्यसकारण सहमतिको आधारमा सभापति चयन हुनुपर्छ भन्ने मेरो धारणा हो ।’ 

सञ्चारकर्मीको एक जिज्ञासामा वरिष्ठ नेता पौडेलले भने, ‘मधेस कांग्रेसको जनआधार हो। मधेसलाई पनि नेतृत्व दिनुपर्छ भन्ने मेरो मान्यता हो। तर, यो निर्णय कांग्रेसका नाै लाख कार्यकर्ताहरूको हातमा छ ।’

सुझावित समाचार