एमाले अध्यक्ष ओली चितवन आउँदै, राममन्दिर पुग्ने तालिका बन्यो, तर घरबारविहीन चेपाङकोमा पुग्ने समय–तालिका छैन

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली आज चितवन आउँदै छन् । सडकमार्ग हुँदै चितवन आउँदा ओलीले नारायणगढ–मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन–आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गर्नेछन् । त्यसपछि ओलीले एमालेको केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गर्नेछन् । त्यसलगत्तै भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनलाई उद्घाटनसहित सम्बोधनपश्चात्  केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्घाटन गर्ने ओलीको कार्यक्रम छ।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १०औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । बिहानै उदघाटन सत्र सञ्चालन हुने नारायणी किनारको अवलोकन गरेका ओलीले साँझ महाधिवेशनको बन्द सत्र हुने सौराहा क्षेत्र पनि निरीक्षण गर्नेछन् ।नेकपा एमाले भरतपुर महानगर इन्चार्ज देवी ज्ञवलीका अनुसार दुईदिने चितवन बसाइका क्रममा उनी मंगलबार बिहान भरतपुर– १६ ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा निर्माणाधीन मिनी पानीजहाजको अवलोकन गर्नेछन् भने दिउँसो प्रस्तावित अयोध्याधामसम्म पुग्ने कार्यक्रम छ । यद्यपि उनी प्रधानमन्त्री रहँदा हात्तीसहित आगो लगाएर भत्काइएको माडी कुसुम खोलाका विपन्न चेपाङ  परिवारसँग भेट्ने भने औपचारिक कार्यतालिका छैन । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फर्किएलगत्तै ओली चितवन आउनुलाई जिल्लामा दुई पार्टीका शीर्ष नेताको लडाइँको रूपमा पनि विश्लेषण गरिएको छ । 

सुझावित समाचार