सेयर बजारको उकालो यात्रा कायमै : ५५ अंकले बढ्दा नेप्से २८ सय नाघ्यो

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

सेयर बजार दुई हजार आठ सय ३७ बिन्दुसम्म पुगेको छ । आइतबार ५५ दशमलव ५० अंकले बढेर उक्त बिन्दुमा पुगेको हो । अघिल्लो साताबाट बढेको नेप्सेले दुई हजार पाँच सयको बिन्दुबाट उकालो यात्रा तय गरेको छ । प्यानिक बनेका लगानीकर्ता खुसी भएका छन् ।सेयर खरिद–बिक्री रकम पनि सकारात्मक रूपले अघि बढेको छ । धितोपत्र  र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३२ कम्पनीको एक करोड ३८ लाख कित्ता सेयर खरिद–बिक्री गर्दा सात अर्ब ८२ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । नेप्से निरन्तर बढेकाले नाफा बुक गर्ने लगानीकर्ताको संख्यामा पनि कमी आएको छ । आइतबारसम्म १५ वटा वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका छन् भने अझै कम्पनीहरूले एकपछि अर्को गर्दै लाभांश घोषणा गरिरहेका छन् । जसको फलस्वरूप सेयर बजारमा लगानीकर्ता आकर्षित हुने क्रम बढेको छ । 

सर्वाधिक कारोबार आँखु खोला जलविद्युत् कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँको भएको छ । नबिल बैंकको २८ करोड रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंक, हिमालयन बैंक, हिमालयन डिस्टिलिरी कम्पनीको सेयर २७ करोडदेखि २२ करोड रुपैयाँसम्मको कारोबार भएको छ । नेप्से मात्र नभएर ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ९ दशमलव ४६ अंकले बढेर ५ सय ३० दशमलव ४६ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका वाणिज्य बैंक समूहको सूचकबाहेक अन्य १२ वटा समूहको सूचक सकारात्मक बनेको छ । सर्वाधिक बढ्ने समूहमा विकास बैंक, हाइड्रोपावर, होटेल तथा पर्यटन फाइनान्स समूह रहेका छन् । धेरैजसो कम्पनीहरूको सूचक बढ्दा आठवटा कम्पनीको सेयर मूल्य सर्किट मूल्यमा कारोबार भएको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, साहस ऊर्जा लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । आइतबार एभरेष्ट बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ । बैंकले १० प्रतिशत लाभांश घोषण गरे पनि लगानीकर्ताले उक्त लाभांशप्रति चित्त बुझाएको देखिएन ।

सुझावित समाचार