दुई अर्ब ३५ करोडमा भारतको राजदीप बिल्डकनलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको काम एक वर्ष बित्दा पनि निर्माणले गति लिन सकेन
नेपालगन्जको जयसपुरमा निर्माणाधीन एकीकृत जाँचचौकी (आइसिपी) निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । भारत सरकारले गत कात्तिकमा ठेक्का सम्झौता गरेको आयोजना एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले जानकारी दिए ।
भारत सरकारको दुई अर्ब ३५ करोड नेपाली रुपैयाँमा भारतकै राजदीप बिल्डकनले दुई वर्षमा सक्ने गरी काम थालेको हो । तर, काम थालेको एक वर्ष बित्दा पनि निर्माणले गति लिन नसकेको इन्जिनियर भुसालले बताए । कम्पनीको भनाइ उद्धृत गर्दै उनले भने, ‘तीन महिना मोबिलाइज गर्ने समय लागेको र काम थाल्नेबित्तिकै दोस्रो चरणको कोरोना फैलिएकाले काममा ढिलाइ भएको छ । कोरोना सकिनेबित्तिकै बर्सात सुरु भएको र पानी जमेका कारण काममा बाधा पुगेको छ ।’
दुई दशमलव २० किलोमिटर लम्बाइ र ६० मिटर चौडाइको आइसिपी सडकमा बीचबिन्दुबाट १२ मिटर कालोपत्रे गरिने
कोरोनाले चार महिना ढिलाइ गरेको भन्दै निर्माण कम्पनीले भारत सरकारसँग चार महिना थप समय मागेको उनले बताए । ‘चार महिना थप भए निर्माण कम्पनीले एक वर्ष चार महिना समय पाउँछ । उक्त समयमा काम सक्ने गरी काम अगाडि बढेको देखिन्छ,’ भुसालले भने ।
आइसिपीसम्म पुग्ने सडक र पर्खाल लगाउने काम पनि सँगसँगै भइरहेको छ । दुई दशमलव २० किलोमिटर लम्बाइ र ६० मिटर चौडाइको उक्त सडकमा बीचबिन्दुबाट १२ मिटर कालोपत्रे गरिने इन्जिनियर भुसालको भनाइ छ ।
८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टिन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायतका संरचना निर्माण हुनेछन् । ‘एकै ठाउँबाट सम्पूर्ण सेवा प्रदान गर्ने यसको मुख्य उद्देश्य हो । यसले ट्राफिक जाम नहुने, व्यापारीलाई ठाउँ–ठाउँमा जाने झमेला नहुने हुन्छ,’ उनले भने ।
सन् २००५ मा एकीकृत भन्सार जाँचचौकी (आइसिपी) निर्माण गर्न नेपाल–भारतबीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा आइसिपी निर्माण गर्ने सम्झौता भएको छ । विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । भैरहवा र नेपालगन्जको काम सँगसँगै अगाडि बढेको उनको भनाइ छ ।
आइसिपी निर्माण हुन थालेपछि आशा पलाएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए । आइसिपी सञ्चालनमा आए यहाँका व्यापारीलाई सामान आयात र निर्यात गर्न सहज हुने उनले बताए । उनले एक वर्षदेखि काम सुरु भए पनि सुस्त गतिमा भइरहेको बताए । ‘निर्माण कम्पनीले विभिन्न बहाना बनाएर आफ्नो कमजोरी लुकाउन खोज्दै छ, तर जुन रफ्तारमा हुनुपर्ने हो, त्यो हुन सकेको पाइएन,’ ओलीले भने ।