तीन करोड ३४ लाख ५० हजार डोज खोप पाइपलाइनमा

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

कोरोना भाइरसविरुद्धको खोप आउने क्रम जारी छ । ८ माघ ०७७ देखि हालसम्म एक करोड ९९ लाख ७९ हजार तीन सय ३० डोज खोप नेपाललाई उपलब्ध भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा.विवेककुमार लालका अनुसार थप तीन करोड ३४ लाख ५० हजार खोप पाइपलाइनमा छ । 

सहयोगस्वरूप खोप आउने र सरकारले खोप खरिद गर्ने क्रम पनि जारी छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्लो समय सहयोग गर्नेहरू म्याद सकिन लागेको खोप पठाइरहेका छन् । ‘विगतमा भुटानले सहयोग गरेको खोपको म्याद तीन हप्ता पनि थिएन,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले माल्दिभ्सले दिने भनेको खोपको म्याद पनि एक महिनाभन्दा कम छ । उनीहरूको देशमा खेर जाने भएपछि सहयोगका नाममा विकासोन्मुख देशमा पठाउने होड सुुरु भएको छ ।’

सरकारले १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । त्यस्तै, करिब ३४ लाख १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको सूचीअनुसार पाइपलाइनमा रहेका खोपहरूमा फाइजर, मोडेर्ना, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका छन् । यी खोप सन् २०२२ भित्र नेपाल आइसक्ने छन् । कतिपयको आउने मिति तय भएको छ भने केही निश्चित भए पनि मिति तय भएको छैन ।

कुन खोप कहिले आउँदै छ ?
माल्दिभ्स सरकारले दिन लागेको एस्ट्राजेनेकाको दुई लाख एक हजार ६ सय डोज खोप नेपाल आउँदै छ । चीन सरकारले दिने १९ लाख भेरोसेल खोप २ नोभेम्बरमा आउँदै छ । स्विट्जरल्यान्ड सरकारको सहयोगमा कोभ्याक्समार्फत एस्ट्राजेनेकाको एक लाख ४४ हजार डोज २०२१ भित्र आउने निश्चित छ । तर, मिति तय भएको छैन । कोभ्याक्स सुविधामार्फत मोडेर्नाको एक लाख ८८ हजार एक सय ६० डोज खोप पनि २०२१ भित्रै आउनेछ । 

नेपाल सरकार र कोभ्याक्स सुविधाको कस्ट सेयरिङमा ४९ लाख १६ हजार चार सय भेरोसेल खोप पनि २०२१ भित्रै आउनेछ । नेपाल सरकार र कोभ्याक्स सुविधाको कस्ट सेयरिङमा ४० लाख मोडेर्ना खोप सन् २०२२ मा आउँदै छ । यसको पनि आउने मिति तयार भएको छैन । सरकार र कोभ्याक्स सुविधाको कस्ट सेयरिङ भेरोसेल खोप ५० लाख सन् २०२२ भित्र आउँदै छ ।

सरकार र कोभ्याक्स सुविधाको कस्ट सेयरिङमा जोन्सन एन्ड जोन्सनको ५० लाख डोज खोप आउने भएको छ । तर, मिति तय गरेको छैन । नेपालले आफैँले खरिद गरेको ६० लाख डोज फाइजर खोप २०२२ फेब्रुअरीमा आउनेछ । कोभ्याक्स सुविधामार्फत ६१ लाख डोज खोप सन् २०२२ भित्रै आउने भएको छ, तर कुन खोप दिने भन्ने निर्णय भएको छैन ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार