हाई अल्टिच्युट खेलमैदान निर्माण अलपत्र भिरपाखामा अभ्यास गर्न बाध्य

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाललाई खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने धावक हरिबहादुर रोकाया, विश्वरुपा बुढा, सुनमाया बुढा जुम्लाकै खेलाडी हुन् । रोकाया, बुढा मात्रै होइनन् यहाँबाट धेरै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर जितसमेत हासिल गरेका छन् । उनीहरूले हासिल गरेको उपलब्धि देखेर अन्य युवायुवतीहरू पनि एथलेटिक्स (धावक)सहित फुटबल, भलिबललगायत विभिन्न खेलमा रुचि राखिरहेका छन् । तर, सिंगो जिल्लामा एउटै पनि व्यवस्थित खेल मैदान नहुँदा अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन । 

हुनत एन्फाले हरेक वर्ष एकपटक फुटबल प्रतियोगिता आयोजना गर्छ । यो प्रतियोगिता जिल्ला सदरमुकाम खलंगास्थित नेपाली सेनाले तालिम गर्ने मैदान हुन्छ । अन्य वेला सामान्य खेलाडीले मैदानमा प्रवेश पाउँदैनन् । जुम्लामा खेलकुद गतिविधि बढाउन हो भने अब व्यवस्थित खेल मैदान अति नै आवश्यकता रहेको एन्फाका अध्यक्ष भरत बुढ्थापा बताउँछन् । 

जुम्लाका स्थानीय तहहरूले ‘एक पालिका, एक रंगशाला’ निर्माणको नीति लिएका छन् । तर, जनप्रतिनिधिको एक कार्यकाल सकिन लाग्दासमेत एउटै रंगशाला बनाउनेतर्फ चासो गएको छैन । जिल्लास्तरीय प्रतियोगिता गर्नु परे स्थानीय राजासिमको चौरमा हुने गरेको छ ।

पातारासी गाउँपालिकाको छुमचौरमा हाइअल्टिच्युट प्रशिक्षण मैदान बनाउने घोषणा गरिए पनि अहिलेसम्म बनेको छैन । हाइअल्टिच्युट मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि ३२ करोड तीन लाख खर्च भइसकेको छ । मैदान सम्याउने काम पनि भइसकेको छ ।

तर, यसबाहेक अरू संरचना निर्माण भएको छैनन् । यो मैदान मालिका मावि लोडचौरको दुई हजार आठ सय मिटर उचाइमा छ । हाइअल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढी खेलका प्रतियोगिता गर्न सक्ने गरी निर्माण गर्ने तयारी थियो ।

यसैगरी स्विमिङ पुल, छात्रावास, सुरक्षागार्ड, पाहुना घर, टिकट काउन्टरसमेत निर्माण गरिने उल्लेख छ । तर, मैदान निर्माण संघ, प्रदेश र स्थानीय तहका कुनै पनि सरकारी निकायले थप चासो देखाएका छैनन् । तीनवटै तहका सरकारले हाइअल्टिच्युट प्रशिक्षण मैदानलाई प्राथमिकतामा नराखेपछि बन्ने नबन्ने निश्चित नभएको जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ । 

यसबाहेक जिल्ला खेलकुद विकास समिति जुम्लाको हाताभित्र भलिबल मैदानमा प्यारापिट निर्माण गर्न थालिए पनि अधुरै छ । डिपिआरअनुसार प्याराफिट निर्माणका लागि एक करोडभन्दा बढी लागत अनुमान गरिएको छ । 

See More On

सुझावित समाचार