लमजुङमा एमालेका सबै कमिटी सर्वसम्मत

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा एमाले लमजुङले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ। वडा र पालिकाका सबै कमिटीमा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको हो। 

एमालेले जिल्लाका ७५ वटै वडा र लमजुङका आठवटा स्थानीय तहमा गाउँ तथा नगर कमिटीमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको एमाले लमजुङका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले बताए। चार नगरपालिका र तीन गाउँपालिकामा मंगलबार र मर्स्याङ्दी गाउँपालिकामा बुधबार नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको दवाडीले जानकारी दिए। 

अधिवेशनअन्तर्गत बेंसीसहर नगर कमिटीको अध्यक्षमा राजकुमार विष्ट दोहोरिएका छन्। उपाध्यक्षमा दुर्गाबहादुर बुढाथोकी, सचिवमा सरद बराल, उपसचिवमा वुना रिमाल र वीरेन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन्। मध्यनेपाल नगर कमिटीको अध्यक्षमा योगेन्द्रनारायण शाह, उपाध्यक्षमा सूर्य गुरुङ, सचिवमा विष्णुभक्त पौडेल, उपसचिवमा शारदा शाखी र सूर्यबहादुर नेपाली चयन भएका छन् । राइनास नगर कमिटीको अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भएका छन्। उपाध्यक्षमा ध्रुव अकेला, सचिवमा बलराम घिमिरे, उपसचिव अनन्त त्रिपाठी र शान्ता न्यौपाने सर्वसम्मत चयन भएका छन्। 

त्यसैगरी सुन्दबजार नगर कमिटीको अध्यक्षमा भीमबहादुर गुरुङ चयन भएका छन्। उपाध्यक्ष र सचिव पदमा सहमति हुन सकेको छैन। उपाध्यक्ष पदको उमेदवारमा जयराम रेग्मी, मेनबहादुर घले, गोविन्द गुरुङ रहेका छन्। सचिव पदका उम्मेदवारमा प्रेमबहादुर भट्टराई, कृष्णकुमार श्रेष्ठ, खेम गुरुङ, कृष्णप्रसाद अधिकारी र सुवासकुमार श्रेष्ठ छन्। सहसचिवमा नवीनकुमार श्रेष्ठ र पार्वती अधिकारी सर्वसम्मत चयन भएका छन्। 

गाउँपालिकातर्फ दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी दोहोरिएका छन्। उपाध्यक्षमा मानबहादुर गुरुङ, सचिवमा अम्बिका मरहट्ठा, उपसचिव लालमाया मिजार र नेत्र गुरुङ सर्वसम्मत चयन भएका छन्। क्व्होलासोंथर गाउँपालिकामा अध्यक्षमा नारायणबहादुर गुरुङ दोहोरिएका छन्। उपाध्यक्षमा सूर्य गुरुङ, सचिवमा गीतबहादुर गुरुङ, सहसचिवमा आसवीर गुरुङ चयन भएका छन्। दूधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ चयन भएका छन्। उपाध्यक्षमा गणेश गुरुङ, सचिवमा फुल तामाङ, उपसचिवमा लोकविलास दवाडी चयन भएका छन्। मर्स्याङ्दी गाउँ कमिटीको अध्यक्षमा चेतबहादुर गुरुङ, उपाध्यक्षमा जुनामाया थापा, सचिवमा राम थापा, उपसचिवमा नन्दराज तामाङ र सरोज विक चयन भएका छन्।  

लमजुङका आठवटै स्थानीय तहको अध्यक्षमा पुरुष चयन भएका छन्। पदाधिकारीमा महिलालाई प्राथमिकता दिइएको छैन। समावेशिताको आधारमा कमिटीहरूमा सबै क्षेत्र र समुदायको प्रतिनिधित्व भएको एमालेले जनाए पनि सोअनुसार भएको पाइएको छैन। 
 

सुझावित समाचार