अमेरिकाको घट्दो वैश्विक हैसियत

अमेरिकाको वैश्विक हैसियत फर्काउनेतर्फ लाग्ने हो भने बाइडेनले पहिले उनको राष्ट्रिय सुरक्षा टिम पुनर्गठन गर्नुपर्छ

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

सोमबार सिरियास्थित अमेरिकी सैन्य पोस्टमाथि पाँच ड्रोनले बमबारी गर्यो । आइएसआइएसविरुद्धको संघर्षमा स्थानीय शक्तिलाई बनाउन तैनाथ गरिएको सैन्य पोस्टमाथि इरानसमर्थित मिलिसियाले इरानकै सहयोगमा आक्रमण गरेका थिए । पेन्टागनका प्रेससचिवले आक्रमणलाई ‘जटिल, समन्वयपूर्ण र योजनाबद्ध’को संज्ञा दिए । आक्रमणविरुद्ध अमेरिकाले खासै प्रतिक्रिया दिएको छैन । बरु बाइडेन प्रशासन अझै इरानलाई आणविक सम्झौतासम्बन्धी वार्तामा फर्काउन लागिपरेको छ । यदि कुनै सम्झौता भएमा अर्बौं डलरको कोषमाथि इरानको पहुँच पुग्नेछ । त्यसपछि इरानले यस्ता धेरै आक्रमण गर्न सक्छ ।

सोमबार नै न्युयोर्क टाइम्सका पत्रकार डेभिड स्यांगरले रुसी गुप्तचर एजेन्सी एसभिआरबारे एक खबर लेखेका छन् । एजेन्सीले पुनः अमेरिकी सरकार, कर्पोरेट तथा थिंक ट्यांकका हजारौँ कम्प्युटर सञ्जालमाथि हस्तक्षेप सुरु गरेको स्यांगरले लेखेका छन् । समाचारलाई माइक्रोसफ्टका साइबर सेक्युरिटीविज्ञले पुष्टि गरेका छन् । बाइडेनले केही महिनाअघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रूपमा यस्तो आक्रमण नगर्न चेतावनी दिएका थिए । तर, यसबीच उनैले रुसविरुद्ध ल्याइएका केही कडा कदमलाई खुकुलो बनाएका छन् । अहिले आएर बाइडेन ‘रुससँग तनाव कम गर्ने वेला आएको’ बताउन थालेका छन् । भलै उनका रुसी सहकर्मी त्यसमा सहमत देखिएजस्तो देखिँदैनन् । 

यी दुई घटनाले अमेरिकाको शक्ति परीक्षण गरिरहेको समयमा चिनियाँ सैन्य वाहनले ताइवानको हवाई क्षेत्रमा प्रवेश गर्ने क्रम बढेको समाचार आयो । बेइजिङले ताइवानलाई कब्जा गर्ने विचार केही साताअघिसम्म सुदूर सम्भावना रहेकोमा अहिले ठोस सम्भावनामा बदलिएको छ । बाइडेनले ताइवानसँग गरिएको सम्झौताका कारण ऊमाथि चीनले आक्रमण गरे अमेरिकाले प्रतिरक्षा गर्ने बताइरहेका छन् । पछिल्लो समय सिएनएन टाउ हलमा उनले यही भनाइ दोहोर्याए । लगत्तै, ह्वाइट हाउसले एक स्पष्टीकरण जारी गर्दै ‘ताइवान रिलेसन एक्ट’अन्तर्गत अमेरिकाले ताइवानलाई आत्मरक्षा बलियो बनाउने कार्यमा मात्र सघाउने बतायो । अर्थात्, ताइवानमाथि आक्रमण भएको अवस्थामा अमेरिकी हस्तक्षेपको स्पष्ट ग्यारेन्टी छैन । अर्को शब्दमा भन्दा हाम्रो समयको प्रमुख नीतिगत चुनौतीमध्ये एकमा अमेरिकाका राष्ट्रपति स्पष्ट नरहेको देखियो । अर्को मुद्दामा उनले आफ्नो सन्देशलाई स्पष्ट गर्न सकेनन् भने तेस्रोमा त सुसंगत नीति रहे–नरहेको स्पष्ट छैन । कमजोर मित्रप्रति विश्वसनीय सहयोगी र दुस्साहसी शत्रुविरुद्ध कठोर रहने अमेरिकाको जुन पहिचान थियो, त्यो देखिने गरी कमजोर बनेको छ । यो क्षयको जड खोज्न केही वर्ष पछाडि फर्कनुपर्छ र दोषी पात्रको संख्या गन्ने हो भने धेरैको नाउँ आउँछ । तर, बाइडेनले चुनावमा आफूले जिते ज्ञान, अनुभव र दक्षताका साथ शासन चलाउने वाचा गरेका थिए । तर, के उनले चुनावी वाचालाई यथार्थमा बदल्न सकेका छन् ? अमेरिकी मतदाताले वाचाअनुरूपको व्यवहार पाएका छन् त भन्ने प्रश्न उठ्न थालेको छ । 

ताइवान, इरान र रुसको कुरा मात्र होइन, बाइडेनले सत्ता सम्हाल्दा विश्वले लिएको दिशा बुझेझैँ गरेका थिए । डोनाल्ड ट्रम्पको बहिर्गमनपछि अमेरिकाले आफ्ना मित्रराष्ट्रसँग सम्बन्ध सुधार्ने र प्रतिद्वन्द्वीसँग कम्तीमा कूटनीतिक सहजीकरण सुरु गर्ने अनुमान गरिएको थियो । अमेरिकाको दक्षिणी सिमानामा मानवीय नीति अवलम्बन गरेर मानवीय संकट घटाउन सकिन्थ्यो । महामारीको बोझ जुलाई ४ सम्म उल्लेख्य मात्रामा कम गर्न सकिन्थ्यो भने अफगानिस्तानमा तैनाथ सेना सेप्टेम्बर ११ सम्ममा सुरक्षित र सर्वस्वीकार्य रूपमा बहिर्गमन गर्न सकिन्थ्यो । र, देशको अर्थतन्त्र थप समृद्ध हुन सक्थ्यो । तर, बाइडेनसँग गरिएका कुनै पनि अपेक्षा परिपूर्ति हुन सकेन । 

कमजोर मित्रप्रति विश्वसनीय सहयोगी र दुस्साहसी शत्रुविरुद्ध कठोर रहने अमेरिकाको जुन पहिचान थियो, त्यो देखिने गरी कमजोर बनेको छ । यो क्षयको जड खोज्न केही वर्ष पछाडि फर्कनुपर्छ र दोषी पात्रको संख्या गन्ने हो भने धेरैको नाम आउँछ । तर, बाइडेनले आफ्नो वाचा पूरा गर्न नसक्दा निराशा बढेको छ । 

बाइडेन प्रशासनले जटिल मुद्दामा आफूले सोचेभन्दा फरक स्थिति पैदा हुँदा के गर्ने भन्ने सोच्दैन जस्तो देखिएको छ । प्रशासनले त्यस्तो सोचेको भए पनि त्यसलाई सम्हाल्न योजना बनाएको रहेनछ । अफगानिस्तानलाई नै लिऊँ । जुलाईमा राष्ट्रपति बाइडेनले दूतावासको छतबाट मानिसहरूलाई एयरलिफ्ट गर्नुपर्ने अवस्था नआउने बताएका थिए । तर, एक महिनापछि धार्मिक अतिवादीको कब्जाबाट बच्न हजारौँ अफगानीले आफूलाई देशबाट निकाल्न अनुनय गरेको विश्वले देख्यो । अनि मित्रशक्तिसँगको सम्बन्ध हेरौँ न । विभिन्न सञ्चारमाध्यमका अनुसार अफगानिस्तानबाट गरिएको अव्यवस्थित सैन्य फिर्तीप्रति अमेरिकाको मित्रशक्ति सन्तुष्ट थिएनन् । तर, तिनको असन्तुष्टि र आलोचनालाई बाइडेनले सुन्नै चाहेनन् ।

अफगानिस्तानको पश्चिमासमर्थित सरकार धराशायी भएको कुराले धेरै बेमेल निम्त्याएको छ । अमेरिकाको रवैयाप्रति सबैभन्दा चर्को विरोधको आवाज युरोपमा सुनियो । अमेरिकाको सिमानाको मुद्दाबारे चर्चा गरौँ । मार्चमा आप्रवासीको संख्या बढ्दा बाइडेनले त्यसलाई वर्षको सो समयमा सधैँजसो आप्रवासीको संख्या वृद्धि हुने भनेर पन्छिन खोजे । तर, अघिल्लो वर्ष सीमारक्षकहरूले हालसम्मकै उच्च संख्यामा आप्रवासीको सामना गर्नुपरेको तथ्यांक बाहिरिएको छ । अर्थतन्त्रको सवालमा सरकारको प्रदर्शन कस्तो रह्यो त ? जुलाईमा अमेरिकी राष्ट्रपतिले मूल्यवृद्धिलाई ‘अपेक्षित र अल्पकालीन’ भन्दै चिन्ता लिनु नपर्ने बताए । तर, अस्थायी भनिएको मूल्यवृद्धिले जनताको जीवनस्तरलाई प्रभाव पार्न थालेको छ । 

प्रशासनको वास्तविक रणनीतिक उपलब्धिको रूपमा हेरिएको अमेरिका–बेलायत–अस्ट्रेलियाबीचको पनडुब्बी सम्झौता पनि फ्रान्सलाई चिढ्याएर गरियो । भविष्यमा अमेरिकालाई कुनै सहयोग चाहिँदा फ्रान्सले कूटनीतिक रूपमा बदला लिन सक्छ । यहाँ बाइडेन सरकारका जति पनि गल्ती थिए, ती पन्छाउन सकिन्थ्यो । तर, त्यसो गरिएन । र, प्रशासनको नेतृत्व गरेकाले यी गल्तीको जिम्मेवारी बाइडेनले लिनुपर्छ । पूर्वरक्षामन्त्री रोवर्ट गेट्सले सन् २०१४ मा बाइडेनको समीक्षा गर्दै उनी प्रमुख विदेश नीति तथा राष्ट्रिय सुरक्षाको मुद्दामा सधैँ गलत स्थानमा उभिने गरेको बताएका थिए । गेट्सको भनाइ सम्झना हुनेहरू अहिले केही चिन्तित छन् । तर, राष्ट्रपति बाइडेनका गल्तीमा उनका सल्लाहकारहरूको पनि कमजोरी छ । उनीहरू राष्ट्रपतिलाई गलत सल्लाह दिइरहेका छन् । के ख्याल गर्नुपर्छ भने बाइडेनको प्रशासन सफल हुँदा अमेरिका सफल हुन्छ । 

असफल बाइडेन प्रशासनको विकल्प अलग प्रशासन होइन । बरु विश्वव्यवस्थाको परिवर्तनले अमेरिका थप विपन्न, कमजोर र अनुदार पपुलिस्ट नेताको जोखिममा पर्नेछ । बाइडेनले आफू हिँडेको मार्ग सच्याउने हो भने तत्कालै राष्ट्रिय सुरक्षा टिम पुनर्गठन गर्नुपर्छ । उनले मन ठूलो बनाएर रोवर्ट गेट्सजस्ता मानिसलाई आमन्त्रित गर्नुपर्छ ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
द जेरुसेलम पोस्टका पूर्वप्रधानसम्पादक ब्रेट स्टेफन्स स्तम्भकार हुन् । 

 

सुझावित समाचार