नियमावली संशोधन गरेर भए पनि प्रहरी संगठनभित्र सुधार हुँदै छ : गृहमन्त्री खाण

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र केही सुधारका काम गर्न लागेको बताएका छन् । बुधबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पियनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरूलाई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै गृहमन्त्री खाणले सरकारले नेपाल प्रहरीको संगठनभित्र सुधारको काम गर्न लागेको बताएका हुन् ।

नियमावली संशोधन गरेर भए पनि प्रहरी जवानहरूले उत्साहित भएर र आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन लागेको उनले बताए । प्रहरी संगठनको तल्लो तहबाट परिवर्तन ल्याउन सरकार लागेको उनको भनाइ थियो । प्रहरीभित्र बढुवा गर्नका लागि थप पद सिर्जना गर्न लागेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘सुरक्षा निकायले पनि, प्रशासनका कर्मचारी र प्रशासनका पदाधिकारीले पनि सबै नेपालीलाई सम्मान गर्नुहोस्। कुनै पनि अफिसमा बसेको अधिकृत वा हाकिमले कुनै नेपालीलाई तँ भन्नै पाइँदैन । त्यस्तै नेपाल प्रहरी र सुरक्षा निकायका प्रहरी अधिकृतहरूले पनि सबैलाई सम्मानार्थी शब्द प्रयोग गर्नैपर्ने त्यो हाम्रो निर्देशन जारी भएको छ ।’

सुझावित समाचार