सैन्य मामिलाबारे नेपाल-भारत बैठक बस्दै

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली सेनाको हतियार तथा गोलीगठ्ठा खरिद एवं द्विपक्षीय सैन्य सहयोगका विषयमा छलफल हुने

सैन्य मामिलामा छलफल गर्ने निकाय नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक तीन वर्षपछि बिहीबार र शुक्रबार भारतको बैंग्लोरमा बस्दै छ । बैठकमा नेपाली सेनाको हतियार तथा गोलीगठ्ठा खरिद एवं द्विपक्षीय सैन्य सहयोगका विषयमा छलफल हुनेछ । 

बैठकमा भाग लिन १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डल बुधबार भारत पुगेको छ । बैठकमा नेपालले भारतबाट हतियार तथा सैनिक सामग्री समयमै आपूर्ति गरिदिनुपर्ने, नेपालले भनेका सैन्य सामग्री खरिदका लागि सहजीकरण गरिदिनुपर्ने, भारतमा नेपाली सैनिकलाई तालिममा कोटा थप गरिदिनुपर्नेलगायत विषय प्रस्ताव गर्दै छ । 

नेपाल सरकार तथा भारत सरकारबीच  सेनाका विषयमा नियमित रूपमा छलफल गर्ने यो संयन्त्र ०६० मा गठन भएको हो । बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख तीर्थराज वाग्ले र भारतको तर्फबाट विदेश मन्त्रालयको उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले नेतृत्व गर्नेछन् । 

दुवै मुलुकका तर्फबाट रक्षा मन्त्रालयका सहसचिव एवं नेपाली र भारतीय सेनाका अधिकारीहरू गरी ३२ जना बैठकमा सहभागी हुनेछन् । नेपाली सेनाका अनुसार अहिले परामर्श समूहको १४औँ बैठक बस्न लागेको हो । समूहको १३औँ बैठक काठमाडौंमा  बसेको थियो । 

‘समूहको १४औँ बैठक ०७६ चैतमा नयाँ दिल्लीमा आयोजना गर्ने तय भए पनि कोभिड– १९ महामारीका कारण हुन सकेको थिएन, अहिले बस्न लागेको हो,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले नयाँ पत्रिकासँग भने, ‘बैठकमा मुख्यतः नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धिसम्बन्धी सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची छ ।’ बैठकमा परराष्ट्रका सहसचिव वाग्लेको नेतृत्वमा परराष्ट्र, रक्षा मन्त्रालयका अधिकारी, दिल्लीस्थित नेपाली सैनिक सहचारी तथा दूतावासका राजनीतिक काउन्सिलर सहभागी हुने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । 

सुझावित समाचार