कांग्रेस महाधिवेशन : सातौँपटक कार्यतालिका परिवर्तन

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

अवरुद्ध अधिवेशन प्रक्रिया २७ कात्तिकबाट सुरु, केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरसम्म 

कांग्रेसले सातौँपटक महाधिवेशन कार्यतालिका परिवर्तन गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले बैठकले १४औँ महाधिवेशनअन्तर्गतका प्रक्रिया छठपछि सुरु हुने गरी कार्यतालिका तयार पारेको हो । 

तयार भएको कार्यतालिकाअनुसार यसअघि अवरुद्ध अधिवेशन प्रक्रिया २७ कात्तिकबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरसम्म गर्ने तय भएको छ । यसअघि ९ देखि १३ मंसिरसम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका थियो ।

निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले केन्द्रीय निर्वाचन समितिले महाधिवेशन कार्यतालिका संशोधनको प्रस्ताव गरेको जानकारी दिए । उनले बिहीबार निर्णय गरेर कार्यतालिका सार्वजनिक गरिने जानकारी दिए । ‘समितिका पाँचमध्ये चार सदस्यको उपस्थितिमा कार्यतालिका तयार भएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन समितिलाई महाधिवेशनको पूर्ण जिम्मेवारी दिइएकाले समितिले निर्णय गर्ने या केन्द्रीय समितिमार्फत अनुमोदन गर्ने भन्ने बिहीबार निर्णय लिनेछौँ ।’

निर्वाचन समितिले मंगलबार कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको छलफलपछि कार्यतालिका तयार गरेको हो । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले तिहार र छठ पर्वका कारण अधिवेशन लगातार गर्न सम्भव नहुने भएपछि छठपछि सुरु गर्न लागिएको जानकारी दिए । ‘पछिल्लो समयको बेमौसमी वर्षाका कारण तराईसहितका विभिन्न जिल्ला प्रभावित बनेका छन्,’ उनले भने, ‘लगत्तै तिहार र छठ पनि आउँदै छ, जसकारण अधिवेशन प्रक्रिया लगातार हुन सम्भव छैन । छठपछि नयाँ कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढाउन लागिएको हो ।’ 

कहाँ पुग्यो अधिवेशन प्रक्रिया ?
हालसम्म अधिवेशनअन्तर्गत ५१ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । निर्वाचन क्षेत्र एउटा मात्र भएका पहाडी र हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १३ जिल्लामा भने वडा तहको अधिवेशनसमेत सुरु हुन सकेको छैन । रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद अझै टुंगिन सकेको छैन । कार्यतालिकाअनुसार काम नहुँदा छैटौँपटकको कार्यतालिकासमेत प्रभावित बन्न पुगेको थियो । मंगलबारको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले समितिलाई पूर्ण निर्णयको पूर्ण अधिकार रहने भन्दै मंसिरभित्र सम्पन्न हुने गरी कार्यतालिका बनाउन निर्देशन दिएका थिए । सोहीअनुसार समितिले नयाँ कार्यतालिका तयार पारेको हो । 

निर्वाचन आयोगलाई महाधिवेशनको प्रक्रिया सुरु गरेको जानकारी
संविधानको धारा २६९ को उपधारा ४ (ख) को व्यवस्थाअनुसार पाँच वर्षमा विशेष परिस्थितिका कारण महाधिवेशन सम्पन्न हुन नसके ६ महिनाको थप समय पाउने व्यवस्था छ । कांग्रेसको हकमा संविधानको व्यवस्थाअनुसारको साढे पाँच वर्षको अवधि गत २३ भदौमा सकिएको थियो । कांग्रेसले १८ भदौबाट महाधिवेशन सुरु भएर १३ मंसिरमा सम्पन्न हुने गरी कार्यतालिका ल्याएको थियो । यसको जानकारी कांग्रेसले २३ भदौमा निर्वाचन आयोगलाई गराएको थियो । आयोगलाई कोरोना महामारीका कारण उत्पन्न परिस्थितिका कारण समयमै महाधिवेशन सम्पन्न हुन नसकेको कारण देखाइएको थियो । आयोगले पत्रलाई नोटिसमा लिइएको र कानुनी प्रश्न नरहेको बताएको छ । समयमै महाधिवेशन सम्पन्न हुन नसक्दा कांग्रेसको वैधानिकतामाथि प्रश्न उठ्दै आएको थियो ।

पटक–पटक कार्यतालिका परिवर्तन हुँदा कांग्रेसको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था आयो : प्रकाशमान सिंह, कांग्रेस नेता 
 

नेतृत्वले महाधिवेशनलाई हल्का रूपमा लिँदा पटक–पटक महाधिवेशन मिति परिवर्तन भइरहेको छ । केही जिल्लाको अधिवेशन सकिँदासमेत अझै दुई जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंग्याउनु नेतृत्वको चरम अक्षमता र लापरबाही हो । पार्टी संरचना आफ्नो पक्षमा पार्ने नेतृत्व तहले खेल खेल्दा कांग्रेसमाथि अवैधको प्रश्न उठ्ने अवस्था आइरहेको छ । कार्यतालिका बनाउने र पटक–पटक कार्यतालिका परिवर्तन हुँदा कांग्रेसको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था आयो ।

नयाँ कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्छ : महादेवप्रसाद यादव, कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक

बेमौसमी वर्षाका कारण तराईसहितका विभिन्न जिल्ला प्रभावित बनेका छन् । लगत्तै तिहार र छठ आउँदै छ । जसकारण अधिवेशन प्रक्रिया लगातार हुन सम्भव छैन । निर्वाचन समितिको छलफलबाट छठपछि प्रक्रिया सुरु गर्ने गरी नयाँ कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

यसअघि छ पटक सर्‍यो
कांग्रेसले पहिलोपटक २०७६ फागुन ११ मा कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकामा २०७७ मंसिर ९ बाट तल्लो तहको अधिवेशन सुरु गरेर फागुन ७ देखि १० सम्म केन्द्रीय महाधिवेशन गर्ने तय भएको थियो। कार्यतालिकामा पहिलो संशोधन गर्दै २०७६ माघ १३ मा केन्द्रीय महाधिवेशनको मिति यथावत राख्दै तल्ला तहका अधिवेशन केही अघि सार्ने निर्णय गरेको थियो।

२०७७ असार २२ गते बसेको केन्द्रीय समितिले कार्यतालिका तेस्रो पटक संशोधन गरेको थियो। तेस्रोपटक पनि केन्द्रीय महाधिवेशन मिति भने परिमार्जन गरिएको थिएन।

चौथोपटक भने केन्द्रीय महाधिवेशनको मितिसमेत परिमार्जन गरिएको थियो। चौथोपटक २०७७ फागुन ६ मा ०७८ असार ५ गतेबाट तल्लो तहको अधिवेशन सुरु गरेर ०७८ भदौ ७ देखि १० सम्ममा केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो। पाँचौपटक २०७८ असार ४ मा साउन १२ बाट तल्लो तहको अधिवेशन सुरु गरेर केन्द्रीय अधिवेशन भदौ १६ देखि १९ सम्म केन्द्रीय अधिवेशन गर्नेगरी कार्यतालिका ल्याईएको थियो। यसअघि छैठौंपटक गत साउन ३० मा भदौ १८ बाट वडा अधिवेशन सुरु गरेर मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याईएको थियो। कार्यतालिकाअनुसार भदौ १८ बाट अधिवेशन सुरु भएपनि प्रकृया अवरुद्ध हुँदै आएको छ।

सुझावित समाचार