प्रहरी समायोजनमा केन्द्र सरकारको अनिच्छा

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

चुनावअघि समायोजन हुने सम्भावना न्यून 

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई साताअघि पोखरामा आयोजित एक कार्यक्रममा संघीयता कार्यान्वयनमा ढिलाइ हुँदा विरोधीहरू उत्साहित भएको टिप्पणी गरे । तर, प्रधानमन्त्री देउवाले स्वयं संघीयता कार्यान्वयनमा ढिलाइ गरिरहेका छन् । त्यसको एक उदाहरण प्रहरी समायोजन हो । 

सरकार बनेको तीन महिना बित्दा पनि उनले प्रहरी समायोजनको काममा कत्ति पनि चासो दिएका छैनन् । गृह मन्त्रालयको तयारी हेर्दा अर्काे संसदीय निर्वाचनअघि प्रहरी समायोजन हुने सम्भावना न्यून देखिन्छ । 

गृहले समायोजनका लागि कुनै तत्परता देखाएको छैन । समायोजन गर्दा प्रहरी अरनखटन गर्ने केन्द्र सरकारको अधिकार कटौती हुने भएकाले नियोजित रूपमा यसमा ढिलाइ भइरहेको छ । प्रहरी समायोजनका लागि प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत भएको एक वर्ष भइसकेको छ । गत वर्ष कात्तिकमा नै दरबन्दी स्वीकृत भएको थियो । सुरुमा प्रतिनिधिसभा विघटनको कारण देखाएर समायोजन रोकिएको थियो । केपी ओली सरकारले प्रहरी समायोजनमा नियतवश ढिलाइ  गरेकोमा सरकारले पनि प्रहरी परिचालन गर्ने अधिकार तत्काल प्रदेश सरकारलाई दिन चाहेको छैन । प्रहरी प्रदेश सरकारमातहत स्वायत्त रूपमा परिचालन हुने प्रावधान संविधानमा छ । 

प्राविधिक रूपमा ऐन संशोधनका कारण पनि समायोजन अन्योलमा परेको हो । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐनलाई संशोधन गर्न बनेको अध्यादेश निष्क्रिय भएपछि सरकारले यससम्बन्धी विधेयक संसद्मा पेस गरेको छ । जसमा काठमाडौं उपत्यकालाई केन्द्र सरकारमातहत राख्ने उल्लेख छ । सो विधेयक पास नभईकन समायोजनको प्रक्रिया अघि बढ्ने सम्भावना छैन । 

दरबन्दी टुंगियो
सरकारले केन्द्र र प्रदेशमा रहने दरबन्दीको भने टुंगो लगाइसकेको छ । नेपाल प्रहरीमा २४ हजार आठ सय १६ र सातवटा प्रदेशमा ५४ हजार सात सय २० जनशक्ति रहनेछ ।

प्रदेश १ मा १० हजार सात सय १७, प्रदेश २ मा नौ हजार एक सय ५२, बागमतीमा सात हजार तीन सय चार, गण्डकीमा ६ हजार सात सय ४५, लुम्बिनीमा नौ हजार चार सय ४३, कर्णालीमा पाँच हजार चार सय ५८ र सुदूरपश्चिममा पाँच हजार नौ सय एक प्रहरीको दरबन्दी कायम गरिएको छ । 

हरेक प्रदेशमा एक डिआइजी र तीन एसएसपीको दरबन्दी हुनेछ । प्रदेश प्रहरी प्रमुख डिआइजी हुन्छन् । प्रदेश प्रहरी कार्यालयमा दुई तथा प्रदेश तालिम केन्द्रमा एक एसएसपीको दरबन्दी हुन्छ । त्यसअनुसार सात प्रदेशमा सात डिआइजी, २१ एसएसपी, ६९ एसपी, एक सय ८१ डिएसपी, सात सय ३२ इन्स्पेक्टरको दरबन्दी कायम भएको छ । यस्तै, दुई हजार दुई सय ५७ सइ, पाँच हजार दुई सय ७४ असइ, १० हजार ६ सय ११ हवल्दार, ३२ हजार आठ सय १८ जवान र एक हजार नौ सय १६ कार्यालय सहयोगी हुनेछन् ।

गृहमा छैन कुनै सुरसार 

गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख प्रहरी समायोजन समितिका अध्यक्ष हुने प्रावधान छ । हाल सहसचिव सुनिल खनाल सो महाशाखाको प्रमुख छन् । तर, यससम्बन्धी विषयमा समितिको बैठक बोलाउनसमेत उनले चासो दिएका छैनन् । उनले केही दिनमै अवकाश पाउँदै छन् । नयाँ आउने सहसचिवलाई पनि यसबारे बुझ्नै समय लाग्ने अवस्था छ । अर्काेतर्फ निर्वाचन आयोगले यही वर्ष चुनाव गर्ने तयारी गरिरहेको छ । ‘स्थानीय तहको निर्वाचन यही वर्ष हुने सम्भावना छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘अहिले प्रहरी समायोजनको प्रक्रिया सुरु गर्दा पनि कम्तीमा चार–पाँच महिना लाग्छ । चुनाव र समायोजन एकैपटक हुँदा सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले तत्काल तयारी नगरिएको हो ।’ 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल भने प्रहरी समायोजनबारे छलफल भइरहेको बताउँछन् । समायोजनमा नियतवश ढिलाइ नगरिएको उनको भनाइ छ । समायोजनका लागि प्राविधिक तयारी भने पूरा भइसकेको छ । समायोजनका लागि सफ्टवेयर तयार भइसकेको छ । केही कार्यविधिहरूको मस्यौदा बनिसकेको छ । यद्यपि, त्यसलाई मन्त्रिपरिषद्मा लगिएको छैन । 

प्रहरी समायोजन ऐनअनुसार डिएसपीसम्मका प्रहरी प्रदेशमा समायोजन हुनेछन् । डिएसपीसम्मका सबै प्रहरीले आवेदन दिने र सफ्टवेयरमार्फत समायोजनको निर्णय हुने गरी यसअघि तयारी गरिएको थियो । कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत प्रदेश, स्थायी बसोवासको ठेगाना, नागरिकताको ठेगाना र उमेरको ज्येष्ठताको आधारमा समायोजनको निर्णय हुनेछ । प्रदेशमा समायोजन भइसकेका कर्मचारी पछि अन्य प्रदेशमा जान पाउने प्रावधान प्रस्ट नभएकाले समायोजनमा अन्योल छ । नेपाल प्रहरीसम्बन्धी नयाँ ऐन नआउँदा यससम्बन्धी अन्योल छ । 

सुझावित समाचार