विश्वासको मतअघि बलुचिस्तानका मुख्यमन्त्रीद्वारा राजीनामा

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

पाकिस्तानको आन्तरिक गृहयुद्ध चुलिएको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तका मुख्यमन्त्री जाम कमल खानले राजीनामा दिएका छन्। गत महिना विपक्षी दलका १६ सांसद र आफ्नै पार्टी बलुचिस्तान अवामी पार्टी (बिएपी)का सांसदले उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । यही प्रकरणमाझ उनको राजीनामा आएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बलुचिस्तानका गभर्नर सैयद जाहुर आघाले मुख्यमन्त्री जामको राजीनामा ग्रहण गरेका छन्।  सभामुखले सोमबारलाई संसदमा विश्वासको मत लिने कार्यसूचीमा राखेका थिए। त्यसअघि नै उनको राजीनामा आएको हो। बलुचिस्तानको विकास र सुशासनमा आफूले सक्रियता देखाएको भन्दै मुख्यमन्त्री जामले आफू विपक्षीहरूको पैसाको एजेन्डा र कुशासनको चक्करमा फस्न नचाहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

विपक्षीहरूले मुख्यमन्त्री जामको कार्यकालमा कुशासन भएको, उच्च बेरोजगारी बढेको आरोप लगाएका छन् भने मुख्यमन्त्रीले यी सबै आरोप निराधार भएको टिप्पणी गरेका छन्। केन्द्र सरकारको सत्ता गठबन्धन सदस्य भए पनि मुख्यमन्त्रीलाई प्रधानमन्त्री इमरान खानले साथ नदिएको पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुझावित समाचार