८७ अंकले बढ्यो नेप्से, कारोबार रकमको साथ

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

सेयर बजार परिसूचक नेप्से ८७ दशमलव ६३ अंकले बढेको छ । परिसूचक दुई हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेर बन्द भएको हो ।  बैंकको ब्याजदरमा राष्ट्र बैंकले घटाउने निर्देशन दिएपछि बजार बढेको हो । लगानीकर्ताले बुलिस ट्रेन्डको अवस्था नसकिएको अहिले प्रस्ट भएको बताउने गरेका छन् । नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि विगतको भन्दा तुलानात्मक सुधार आएको छ ।

 धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ३० करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, नबिल बैंक लिमिटेड रहेका छन् । यी कम्पनीको १६ करोड रुपैयाँदेखि ११ करोड रुपैयाँसम्मको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहका सूचक सोमबार सकारात्मक बनेका छन् । सो दिन जलविद्युत् र फाइनान्स समूूहका लगानीकर्ताले सर्वाधिक नाफा आर्जन गरेका छन् । विकास बैंक, जीवन बिमा, निर्जीवन बिमा, वाणिज्य बैंक, विकास बैंकमा पनि लगानीकर्ताको आकर्षण बढेको छ । ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १३ दशमलव ६१ अंकले बढेर पाँच सय चार बिन्दुमा पुगेको छ ।

दुई दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । गोर्खाज फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, मल्टिपर्पोज कम्पनी, सांग्रिला डेभलपमेन्ट, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर कम्पनी, हिमालयन पावर कम्पनी, युनियन हाइड्रोपावरलगायत कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, शिवश्री हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, लिबर्टी इनर्जी, अरुण भ्याली हाइड्रोपावर, युनाइटेड इदीमर्दी हाइड्रोपावर, आँखु खोला जलविद्युत् कम्पनी, वरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट मूल्यमा कारोबार भएको हो ।

सो दिन १० वटा कम्पनीको सेयर मूल्यमा मात्र सामान्य गिरावट आएको छ । दसँै पनि सकिएको र करेक्सन लेभल पनि पार गरिसकेको हुँदा बजारले अब उकालो यात्रा समात्ने पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । सेयर खरिद–बिक्रीमा केही कमी आए पनि बिस्तारै सुधार आउने र ‘पर्ख र  हेर’को अवस्थामा रहेका लगानीकर्ताले अझै केही दिन बढ्ला र खरिद–बिक्री गर्ने पोखरेलको भनाइ छ ।

See More On

सुझावित समाचार