पाकिस्तानको लाहोरमा प्रहरी तथा उग्रवादी इस्लामिक प्रदर्शनकारीहरूबीच केही दिनयता भएका झडपमा कम्तीमा मृत्यु हुनेहरूको संख्या १० पुगेको छ । प्रतिबन्धित तेहरिक ई लाबारिक (टिएलपी) नामक संगठनका करिब ८ हजार कार्यकर्ताले गिरफ्तार भएका नेता साद हुसेन रिजभीको रिहाइको माग गर्दै गरेको प्रदर्शनका क्रममा झडप भएको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार तीनजना प्रहरी र सातजना टिएलपीका कार्यकर्ता मारिएका छन् । प्रदर्शनमा उक्त संगठनका करिब ७ सय जति घाइते भएका छन् । लाहोरबाहिरको राना टाउनमा शनिबार पाकिस्तानी रेन्जर र प्रहरीसँग टिएलपीका कार्यकर्ताको झडप भएको थियो । त्यस क्रममा शाहदारा तथा आसपासका क्षेत्र युद्धमैदानमा परिणत भएका थिए । प्रहरीले प्रदर्शनकारीहरूमाथि टियर ग्यास प्रहार गरेको थियो भने प्रतिबन्धित संगठनका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।
प्रदर्शनका कारण शनिबार र आइतबार लाहोर ठप्प थियो भने इन्टरनेट र मोबाइल सेवा पनि अवरुद्ध भएको थियो । पञ्जाब प्रान्तका मुख्यमन्त्री उज्मान बुज्दरले तीनजना प्रहरीको मृत्यु भएको जानकारी दिँदै उनीहरूको बलिदानको सम्मान गरेका छन् । यसैबीच, दुबईमा टी ट्वेन्टी क्रिकेट म्याच हेर्न पुगेका गृहमन्त्री शेख रसिद अहम्मद प्रधानमन्त्री इमरान खानको निर्देशनपछि आकस्मिक रूपमा स्वदेश फर्केका छन् । गृहमन्त्री रसिद र प्रान्त सरकारका मन्त्रीले टिएलपीका प्रतिनिधिहरूसँग लाहोरमा छलफल गरेका छन् ।