- सिरिए ‘ए’ क्लब एटलान्टा र भेनेजियाका युवा टोलीबाट खेलेका नेपाली मूलका इटालियन नागरिक विकास मेराग्लियाले यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल क्लबबाट प्रतिस्पर्धा गर्नेछन्
- सन् २००८ मा इटालियन नागरिकले गोदावरीको एक बालआश्रमबाट एडप्ट गरी विकासलाई इटाली लगेका थिए । फुटबल कल्चरमा हुर्केका विकासले सन् २०१६ मा इटालीको यू–१६ मा स्थान बनाउँदै दुई खेल खेल्ने अवसर पाए ।
भनिन्छ, १२ वर्षपछि खोलो फर्कन्छ । तर, विकास मेराग्लियाको हकमा भने खोलो फर्कन १३ वर्ष लाग्यो । अर्थात्, मातृभूमि नेपाल फर्कन उनलाई १३ वर्ष लागेको छ । विकास आफ्नो जन्मभूमिमा फर्कंदा एक पहिचानका साथ आएका छन् । यसपालि उनी विदेशी खेलाडीको कोटामा फुटबलर बनेर नेपाल आएका हुन् । यसै २९ कात्तिकमा घरेलु फुटबल प्रतियोगिताकै मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
यही ‘ए’ डिभिजन लिगमा सहभागी हुन विकास युरोपियन देश इटालीबाट नेपाल आएका हुन् । विकासले ललितपुर क्लब च्यासलसँग एक वर्षको सम्झौता गरेका छन् । शुक्रबार च्यासलले विदेशी खेलाडीका रूपमा विकासलाई अनुबन्ध गरेको जनाएको छ । विकासलाई च्यासलमा अनुबन्ध गर्न लामो समयको प्रयास भएको अध्यक्ष रमेश व्यञ्जनकारले जानकारी दिएका छन् । ‘विकासलाई च्यासलमा अनुबन्ध गर्न हामीले धेरै अगाडिदेखि पछ्याएका थियौँ,’ उनले भने, ‘सुरुमा कोभिड–१९, त्यसपछि विकासको उमेर नपुग्दा समस्या आएको थियो ।’
च्यासलले यसअघि टोलीको प्रशिक्षकमा बालगोपाल साहुखल र टेक्निकल डाइरेक्टरमा ले मान्सनलाई अनुबन्ध गरिसकेको थियो । च्यासलले साबिक विजेता मच्छिन्द्र क्लबबाट विराज महर्जन र मनाङ मर्स्याङ्दीबाट कमल श्रेष्ठलाई अनुबन्ध गरिसक्यो । च्यासल क्लबका अध्यक्ष व्यञ्जनकारले नेपाली मूलका इटालियन खेलाडी विकासलाई अनुबन्ध गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
‘हामीले विदेशी खेलाडीका रूपमा विकासलाई अनुबन्ध गरेका छौँ,’ व्यञ्जनकारले भने, ‘विकास र च्यासलबीच एक वर्षको सम्झौता भएको छ, आउँदो एक वर्ष च्यासलकै जर्सीमा उनले प्रतिस्पर्धा गर्नेछन् ।’ विकासले च्यासलमा १० नम्बरको जर्सी लगाउनेछन् । च्यासलको यो तेस्रोपटक ‘ए’ डिभिजन लिग अनुभव हुनेछ ।
१३ वर्षपछि सपना पूरा
विकासले १३ वर्षपछि जन्मभूमिमा फर्कंदा पाउँदा ज्यादै खुसी लागेको र आफ्नो वर्षौँदेखिको सपनासमेत पूरा भएको प्रतिक्रिया दिएका छन् । ‘नेपाल आउनेबारे अक्सर सोच्थेँ, तर कसरी यहाँ आउने भन्ने योजना नै बनेन,’ सम्झौता कार्यक्रममा विकासले भने, ‘नेपाल फर्कंदा एकदम नै खुसी लागेको छ, यसको बयान गर्न शब्द नै छैन ।’ नेपालको फुटबलबारे अध्ययन र जानकारी लिएका विकासले यहाँ विशुद्ध फुटबल खेल्नकै लागि आएको जनाएका छन् । यसबाहेक आफ्नो केही पनि प्रायोजन नभएको उनले पत्रकार सम्मेलनमा स्पष्ट पारेका छन् ।
‘म खासगरी फुटबल खेल्नकै लागि नेपाल आएको हुँ,’ आफ्नो उद्देश्यबारे स्पष्ट पार्दै उनले भने, ‘अरू उद्देश्यबारे अहिले सार्वजनिक गर्न सक्दिनँ ।’ ‘मैले त्यसबारे केही सोचेको छैन । अहिले क्लबमा आबद्ध छु र यसमा ध्यान दिएको छु । भविष्यमा त्यस्तो अवसर आउँछ भने पक्कै सोच्नेछु,’ उनले भने । पत्रकार सम्मेलनमा विकासले नेपाली सिनियर टोलीले पछिल्लो समय राम्रो गरिरहेको बताएका छन् ।
‘नेपालको फुटबलबारे पछ्याउँदै आइरहेको छु,’ उनले भने, ‘नेपाली खेलाडीहरूले राम्रो गरिरहेका छन्, उनीहरूको स्तर पनि राम्रो छ ।’ प्रशिक्षणमा नेपाली खेलाडी सहभागी भावनाको रूपमा आफूले पाएको उनको भनाइ छ ।
फुटबल कल्चरमा हुर्केका विकास
सन् २००८ मा केवल ६ वर्षको उमेरमा विकास इटाली पुगे । ललितपुरको गोदावरीस्थित एक बालआश्रमबाट इटालियनले एडप्ट गरेर इटाली लगेका हुन् । त्यहाँ ती इटालियन नागरिकले विकासको नामपछाडि मेराग्लिया थर राखे । त्यसपछि विकासलाई ‘विकास मेराग्लिया’बाट चिनिन थालियो । विश्व फुटबलमा इटालीको फरक स्थान छ । यहाँ फुटबलको कल्चर निकै राम्रो छ । यस्तो वातावरण भएको देशमा पुगेका विकासलाई फुटबलले मोहित नपार्ने कुरै भएन । फुटबलको संस्कृतिमा हुर्केका विकासले आफ्नो क्षमता स्थानीयमा देखाए ।
कलिलो उमेरमै असान्दर्भिक क्षमता देखाएका कारण नै विकासको चर्चा बिस्तारै सुरु भयो । सन् २०१८ मा इटालीको राष्ट्रिय यू–१६ टोलीमै उनी पर्न सफल भए । इटालीको यू–१६ टोलीबाट उनले दुई खेलमा सहभागी हुने अवसर पाए । फुटबलप्रतिको लगाव र मिहिनेतका कारण विकासले छिट्टै विश्वप्रसिद्ध सिरिए लिगमा अनुबन्धको अवसरसमेत पाए ।
सिरिए ए क्लब एटलान्टा र भेनेजियाको युवा टोलीबाट उनले खेल्ने मौका चुकाएनन् । विकासले काटोलिया र मारिग्लयोनेसको सिनियर टोलीबाट पनि खेलेका छन् । युरोपको प्रतिष्ठित क्लब एटलान्टाको जुनियर टोलीबाट खेलेपछि विकासको चर्चा इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा हुन थालेको छ ।
नेपालबाट खेल्ने धारणा छैन
माल्दिभ्सको मालेमा १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप भइरहँदा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली मूलका विदेशी खेलाडीलाई राष्ट्रिय टोलीमा आफ्नो धारणा राखेका थिए । त्यसवेला विदेशी पासपोर्ट बोकेका नेपाली मुलका फुटबल खेलाडी को हुन सक्छन् ? भन्ने प्रश्न थियो । धेरैजसोले नेपाली मूलका इटालियन नागरिक विकासलाई नै नेपाली राष्ट्रिय टोलीबाट खेलाउनुपर्ने अभिव्यक्ति सार्वजनिक नगरेका होइनन् ।
तर, विकासले नेपालबाट खेल्ने सम्भावना निकै कम छ । किनभने, उनले सुरुमा इटालीको पासपोर्ट परित्याग गर्नुपर्छ । अनि विधिवत् रूपमा नेपालको पासपोर्ट बोक्नुपर्छ । त्यसपछि मात्र उनको नेपाली राष्ट्रिय टोलीबाट खेल्ने बाटो खुल्छ । पत्रकार सम्मेलनमा विकासले आफूले नेपालबाट खेल्ने योजना नबनाएको स्पष्ट पारेका छन् । तर, उनले नेपालबाट खेल्न पाउँदा आफूलाई खुसी लाग्ने जनाए । ‘नेपालबाट खेल्ने अवसर पाए, म धेरै नै खुसी हुनेछु,’ हाँस्दै उनले भने, ‘अहिलेसम्म नेपालमा बसेर यही नै गर्छु भनेर सोचेको छैन ।’ लामो समयपछि नेपाल आएका कारण केही पनि योजना नरहेको उनको भनाइ छ ।
‘अहिले नै नेपालमा बसेर के गर्ने भन्ने योजना छैन, तर नेपाल सधैँ आफ्नो मुटुमा छ,’ उनले भने, ‘मलाई इटालीको सबै कुरा मन पर्छ, त्यहाँको कल्चर र खानेकुरा मन पर्छ ।’
फुटबलले जुराएको अवसर
पछिल्लो समय इटालीका विभिन्न उमेर समूह तथा क्लबमा रमाइरहेका विकासले नेपालमा कसरी फर्कने भन्ने योजना बनाएका रहेछन् । इटालीमा रहँदा पनि उनले मुटुमा मातृभूमि नेपाललाई सजाएर राखे । अक्सर उनी नेपाल फर्कने योजनामै रहन्थे । यसका लागि एउटा अवसर मात्र उनलाई चाहिएको थियो । संयोगवश यो अवसर जुराएको छ, फुटबलले । फुटबलकै सहयोगबाट नै उनले मंगलबार १३ वर्षपछि नेपालको भूमिमा टेके ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्न नै उनी गत मंगलबार नेपाल आएका हुन् । ‘१३ वर्षदेखि नेपाल आउने मेरो सपना थियो, त्यो पूरा भएको छ,’ विकासले भने, ‘मैले नेपाल आउन यति लामो यात्रा हुन्छ भन्ने सोचेको थिइनँ ।’ हवाई यात्राबाट दिक्क लागेको महसुस गरेका विकासले काठमाडौं टेकेपछि मात्र स्वतन्त्र भएको बताए ।
क्यामरुनी गोलरक्षक प्रिसो थ्री स्टारमा
अफ्रिकन गोलरक्षक प्रिसोले ‘ए’ डिभिजन लिग खेल्न थ्री स्टार क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । क्यामरुनी गोलरक्षक प्रिसोले शुक्रबार थ्री स्टारसँग सम्झौता नवीकरण गरेका हुन् ।
प्रिसोले २०७६ को लिगमा थ्री स्टारबाटै खेलेका थिए । यसै साता नेपाल आएका प्रिसोले थ्री स्टारबाट खेल्ने बताएका थिए । थ्री स्टारसँगको सम्झौतापछि प्रिसोले नयाँ सिजन राम्रो प्रदर्शन गर्ने बताए । ‘थ्री स्टारमा रहँदा यहाँको माया, समर्थन र प्रेरणाले भरिएको छ,’ उनले भने, ‘हामी सबै उपाधिका लागि कडा प्रतिस्पर्धा गर्नेछौँ ।’
थ्री स्टारले युवा गोलरक्षक अरुण ब्लोनलाई अनुबन्ध गरिसकेको छ । थ्री स्टारले कप्तान विक्रम लामासहित डिफेन्डर अनन्त तामाङ, निशान खड्का, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनग्य नकर्मीसँगको सम्झौता नवीकरण गरिसकेको छ । थ्री स्टारले राष्ट्रिय टोलीका युवा मिडफिल्डर आयुष घलान, विदेशी खेलाडी राफायल बिडिएस रिमलाई अनुबन्ध गरेको थियो ।