विराटनगर विमानस्थल शनिबारदेखि सुचारु हुने

शुक्रबार, ५ कार्तिक, २०७८
डिजिटल संस्करण

बेमौसमी वर्षाले गर्दा डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सुचारु हुने भएको छ । मंगलबारदेखि उडान अवरुद्ध हुन पुगेको यो विमानस्थल परिसर र धावनमार्गमा  बाढी पसेपछि बुधबारदेखि पूर्ण रूपमा बन्द भएको थियो । बाढीले गर्दा पार्किङ गरेर राखिएका बुद्ध एयरको एक र श्री एयरलाइन्सको एकवटा जहाज  धावनमार्ग मै डुबानमा परेका थिए । 

बिहीबार मौसम खुलेर घाम लागेपछि पानी घटे पनि अझै सबैतिर पानी कम नभएको र  सरसफाइको काम पनि जारी रहेकोले शुक्रबार साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सवकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार धावनमार्गमा जमेको हिलो  धमाधम सफा गर्ने काम भइरहेको छ । 

प्रमुख पोखरेलका अनुसार पार्किङ गरेर राखिएका बुद्ध र श्री एयरका जहाज भने बिहीबार साँझ यात्रुविनै काठमाडौं पठाइएको छ । विमानस्थल चार दिनसम्म अवरुद्ध हुँदा दैनिक एक हजारभन्दा बढी यात्रु  प्रभावित भएका छन् ।  मंगलबार साँझ परेको अत्यधिक वर्षाले गर्दा नजिकै रहेको बस्ता खोला र माथिल्लो सतहबाट बगेर आएको बाढीले विराटनगर विमानस्थल डुबानमा परेको थियो । 

सुझावित समाचार