बैंकहरूले निक्षेपमा दिने ब्याजदर बढाउन थालेपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिन थालेको छ । सेयर लगानीकर्ताहरू बजारमा भन्दा बैंकतर्फ आकर्षित भएका कारण नेप्से ओरालो लाग्न थालेको हो । मंगलबार नेप्से सूूचक ७७ दशमलव ३३ अंकले घटेर दुई हजार पाँच सय १० बिन्दुुमा थामिएको छ । नेप्सेमा निरन्तर उच्च अंकको गिरावट आएपछि साना लगानीकर्ताहरू आत्तिन थालेका छन् । झन्डै सय अंक तल झरिसकेको नेप्से बजार बन्द हुनुभन्दा केही समयअघि सम्हालिने प्रयासमा थियो ।
मंगलबार कारोबारमा आएका सबै समूहको सूचक नकारात्मक भएको छ । सर्वाधिक घट्ने समूूहमा फाइनान्स, हाइड्रोपावर, विकास बैंक रहेका छन् । नेपाल हाइड्रो डेप्लोपर्स र नेसनल हाइड्रोपावर कम्पनीको सेयर नौ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, अरुण हाइड्रोपावर कम्पनी, मैलुङ खोला जलविद्युत् परियोजना, पोखरा फाइनान्स कम्पनीको सेयर मूल्य आठ प्रतिशतले गिरावट आएको छ । चिलिमे हाइड्रो, पाँचथर पावर कम्पनीको सेयर सात प्रतिशतले घट्न पुुगेको छ ।
मंगलबार नेप्से घटेसँगै सेयर खरिद–बिक्रीमा पनि कमी आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २१ कम्पनीको ९५ लाख ५७ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । यसमा तीन अर्ब ७७ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार नबिल बैंकको भएको छ । बैंकको सो दिन ११ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, नेपाल क्रेडिट कमर्सियल बैंक, अपि पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलिरी कम्पनीको १० देखि आठ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
सो दिन ११ कम्पनीको मात्र सेयर मूल्य झिनो अंकले बढेको छ । माहुली सामुदायिक लघुवित्त, मानुषी लघुवित्त, माउन्टेन इनर्जी नेपाल, मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाको चारदेखि दुई प्रतिशतले बढेको छ । यी संस्थाका लगानीकर्ताले थोरै भए पनि नाफा आर्जन गर्न सफल भएका छन् ।