काभ्रे जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न भएको छ। ०७७ फागुन ६ गतेदेखि सुरु भएको अभियान कोभिडका कारण ढिला गरी ०७८ असोज २१ गते सम्पन्न भएको हो।
जिल्लामा हालसम्म दुई लाख आठ हजारजनाले विवरण भरेका छन् । जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सम्पन्न भएको छ ।
‘०७७ फागुन ६ गतेदेखि सुरु भएको अभियान कोभिड– १९ का कारण ढिला भयो,’ पोखरेलले भने, ‘हाम्रो जिल्लामा दुई लाख आठ हजारजनाको विवरण संकलन भएको ।’
कुन पालिकामा कति विवरण संकलन
जिल्लामा चौरीदेउराली गाउँपालिकाले लक्ष्य पूरा गर्न नसकेको भए पनि अन्य पालिकाले लक्ष्य पूरा गरेको पोखरेलको भनाइ छ। चौंरीदेउरालीले लक्ष्यको ६४ प्रतिशत मात्रै सम्पन्न गरेको छ।
मतदाता संख्याका आधारमा बनाइएको लक्ष्यभन्दा धेरै बनेपा नगरपालिकामा विवरण भर्ने कार्य सम्पन्न भएको छ। बनेपामा ३० हजार एक सय ९२ जनाले विवरण भरेका छन्। ३४ हजार चार सय ४६ मतदाता रहेको बनेपामा २४ हजार एक सय १७ जनाको विवरण भर्न सकिने अनुमान गरिएको थियो।
रोशी गाउँपालिकामा १२ हजार सात सय ६९, खानीखोला गाउँपालिकामा चार हजार नाै सय ६८, महाभारत गाउँपालिकामा सात हजार ६ सय ८९, बेथानचोक गाउँपालिकामा १० हजार ९७, भुम्लु गाउँपालिकामा नाै हजार ६ सय ३, चौंरीदेउराली गाउँपालिकामा सात हजार आठ सय ९६, तेमाल गाउँपालिकामा नाै हजार २९ जनाले विवरण भरेका छन्।
त्यस्तै, नमोबुद्ध नगरपालिकामा १८ हजार ६ सय ९५ जनाले परिचयपत्रका लागि फोटोसहितको विवरण भराएका छन् भने धुलिखेलमा १८ हजार तीन सय ५८, मण्डनदेउपुर नगरपालिकामा १७ हजार सात सय १२, पाँचखालमा २२ हजार पाँच सय २२, पनौतीमा ३० हजार तीन सय ९९ र बनेपा नगरपालिकामा ३० हजार एक सय ९२ जनाले विवरण भरेका छन्।