फूलपातीको अवसरमा जुम्लामा घोडादौड प्रतियोेगिता सम्पन्न

मंगलबार, २६ असोज, २०७८
डिजिटल संस्करण

जुम्लामा दसैँको फूलपातीको अवसरमा घोडादौड प्रतियोेगिता सम्पन्न गरिएको छ। कोरोनाका कारण गत वर्षदेखि रोकिएको प्रतियोगिता यो वर्ष फेरि सुचारु गरिएको हो। कर्णाली स्पोर्टस् क्लब जुम्लाले आयोजना गरेको खुला घोडादैड प्रतियोगितामा गुठीचौर– २ कुडीगाउँका मनसुर बोहराको घोडा प्रथम भएकाे छ ।  सोही गाउँपालिका– १ गडीगाउँका हरि बस्नेतको घोडा द्वितीय हुँदा गुठीचौर– २ की लक्ष्मी बोहराको घोडा तृतीय भएको छ।

घोडाको पालनपोषण,  कदम वा चाल र खुला दौड गरी प्रतियोगितालाई तीन विधामा विभाजन गरिएको थियो। त्यस्तै, घोडापालनतर्फ पातारासीका एकराज थापा प्रथम, चन्दननाथका कालीबहादुर बुढाथापा द्वितीय र गुठीचौरका कालीबहादुर रावत  तृतीय भए। चाल वा कदमतर्फ बिर्खबहादुर भण्डारी प्रथम, कालीबहादुर  बुढा द्वितीय र  विकास ऐडी तृतीय भए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार  नगदसहित मेडल वितरण गरिएको छ। जुम्लामा हरेक वर्ष फूलपातीका दिन घोडादौड प्रतियोगिता हुने गरेको छ। यसपालिको प्रतियोगितामा जिल्लाभरिका २० वटा घोडालाई सहभागी गराइएको थियो। 

घोडादौड परापूर्वकालमा जुम्ली घोडाको महिमाको रूपमा रहिआएको यहाँका बुढापाकाहरू बताउँछन्। अहिले आएर लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्ली घोडाको महत्व प्रवर्द्धन गर्नका लागि  प्रतियोगिता आयोजना गरिएको कर्णाली क्लबका अध्यक्ष सरोज शाहीले बताए। उनले भने, ‘यसको इतिहास ठ्याक्कै त थाहा छैन। तर, यसअघि जुम्ला एयरपोर्ट पिच हुनुभन्दा अगाडि एयरपोर्टमा घोडादौड हुने गरेको थियो।’

चन्दनाथ नगरपालिका– ८ का जयकृष्ण धरालाका अनुसार कुनै वेला जुम्ली घोडाको माग बढ्दो  थियो। जुम्लामा सवारीसाधन पुग्नु अघिसम्म सामान ढुवानीको काम घोडाबाटै हुने गरेको थियो। उनले भने, ‘परम्परागत यातायातका साधनहरू पनि घोडा नै थिए। तर, अब जुम्लीघोडा लोप हुने स्थितिमा पुगेको छ।’ जिम्मेवार निकायले यसको  संरक्षण गर्नतर्फ ध्यान नदिएकाे स्थानीय बताउँछन्।

सुझावित समाचार