गत असारदेखि बन्द रहेको बाग्लुङको दक्षिण जोड्ने बाग्लुङ–कुश्मिशेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ। बाग्लुङ नगरपालिका– १० दब्लाङमा गएको पहिरोले उक्त सडकखण्डसहित कालीगण्डकी करिडोर पनि बन्द रहेको थियो।
वैकल्पिक व्यवस्था नहुँदा दक्षिण बाग्लुङका जनताले सास्ती खेप्नुपरेको थियो। मंगलबार बिहानदेखि सडक खुलेसँगै दसैँमा घर जान सहज भएको छ। निरन्तरको दबाबपछि दुई साताअघिदेखि मर्मत सुरु गरिएको थियो। यसअघि नै मर्मत सुरु गरिए पनि वर्षाका कारण मर्मत गरेको सडक पहिरोले बगाएपछि सडक सुचारु गर्न ढिला भएको मालढुंगा–कुश्मिशेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले बताए।
सरोकारवाला निकायले पटकपटक निरीक्षण गरे पनि भौगोलिक अवस्थाका कारण सडक सुचारु गर्न कठिनाइ भएको थियो। बाग्लुङ नगरपालिकाको जनश्रमदानसहित कुल २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरी मर्मतको काम अगाडि बढाइएको थियो।
उपभोक्ता समितिमार्फत सडक मर्मत गरी तत्कालका लागि एकतर्फी भए पनि सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष शर्माले जानकारी दिए। सरोकारवाला निकायले अनुगमन गर्दा लागत स्टिमेट धेरै भए पनि जनताले पाएको दुःखलाई मध्यनजर गर्दै नगरपालिकाको विपत् व्यवस्थापनबाट केही रकम छुट्याएर काम अघि बढाइएको बाग्लुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए।
लामो समयदेखि जिल्लाको दक्षिणी भेग तथा बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र सडक सम्पर्कविहीन बनेपछि मर्मत सुरु गरिएको हो। नगरपालिकाले जनश्रमदानबाहेक १६ लाख ६० हजार रुपैयाँ उक्त सडकलाई छुट्याएको उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र ढकाललले जानकारी दिए। सडक बन्द हुँदा भकुण्डे, रायडाँडा, बलेवा, जैमिनी र बरेङ गाउँपालिकाका यात्रुले सास्ती खेप्नुपरेको थियो।