गत वर्षको आर्थिक वृद्धि १ दशमलव ८ प्रतिशत मात्रै

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

- तथ्यांक विभागले गत आवमा ४ दशमलव १ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ, तर वृद्धिदर त्यो भन्दा पनि असाध्यै कमजोर रहेको विश्वबैंकको प्रतिवेदन

- यो वर्ष सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ तर ३ दशमलव ९ प्रतिशत मात्रै हासिल हुने प्रक्षेपण

गत आर्थिक वर्ष ०७७/७८ मा मुलुकको आर्थिक वृद्धि एक दशमलव आठ प्रतिशत मात्रै भएको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ प्रतिवेदनले गत आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेकोभन्दा असाध्यै कमजोर आर्थिक वृद्धि हासिल भएको उल्लेख गरेको छ । केन्द्रीय तथ्यांक विभागले भने गत आवमा चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । विश्व बैंकले नै गत जेठमा सो आर्थिक वर्ष दुई दशमलव सात प्रतिशत आर्थिक वृद्धि हुने आकलन गरेको थियो । 

अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा आर्थिक वृद्धिदर माइनस दुई दशमलव एक प्रतिशतले खुम्चिएको थियो । कोभिड–१९ का कारण इतिहासमै सबैभन्दा कमजोर आर्थिक वृद्धि भएपछिको अर्को वर्ष ०७७/७८ मा पनि अर्थतन्त्र पुनरुत्थान हुन नसकेको हो । सो वर्ष एक दशमलव आठ प्रतिशत आर्थिक वृद्धि हुनुमा पनि कृषिको योगदान महत्वपूर्ण भएको विश्व बैंकले जनाएको छ । सो वर्ष कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव सात प्रतिशत भएको विश्व बैंकले जनाएको छ । अघिल्लो वर्ष चरम ढंगले नकारात्मक बनेको उद्योग र सेवा क्षेत्रको वृद्धिदर गत वर्ष क्रमशः शून्य दशमलव नौ प्रतिशत र एक दशमलव ६ प्रतिशत भएको पनि विश्व बैंकको गणना छ । 

गत वैशाखबाट पुनः लकडाउन भएपछि आर्थिक पुनरुत्थानको गति पुनः रोकिएको थियो । तर, असारपछि लकडाउन खुला हुँदै गएको र यस वर्ष आर्थिक गतिविधि पनि वृद्धि भएका कारण चालू आर्थिक वर्षमा भने तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । 

आगामी आर्थिक वर्ष ०७८/७९ का लागि गत जनवरीमा विश्व बैंकले दुई दशमलव ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, यसपटकको प्रक्षेपण भने केही आशावादी देखिएको छ । आर्थिक वर्ष ०७९/८० मा भने चार दशमलव सात प्रतिशत आर्थिक वृद्धि हुन सक्ने अनुमान विश्व बैंकको छ ।

सरकारले गत आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा लिएको थियो । चालू आर्थिक वर्षमा पनि सात प्रतिशत नै आर्थिक वृद्धि हुने लक्ष्य बजेटले राखेको छ । 

आर्थिक वृद्धिमा माल्दिभ्सको छलाङ
यो वर्ष अर्थात् सन् २०२१ माल्दिभ्सले आर्थिक वृद्धिमा छलाङ मार्ने प्रक्षेपण विश्वबैंकले गरेको छ । यस वर्ष माल्दिभ्सले २२ दशमलव तीन प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको हो । गत वर्ष २०२० मा दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धि पनि माल्दिभ्सकै थियो । त्यस वर्ष माल्दिभ्सको अर्थतन्त्र ३३ दशमलव ६ प्रतिशतले माइनसमा गएको थियो । यस वर्ष माल्दिभ्सले अधिकांश जनसंख्यालाई खोप लगाइसकेकाले आर्थिक वृद्धि उत्साहजनक हुने प्रक्षेपण विश्व बैंकको छ । 

दक्षिण एसियाली क्षेत्रमा यस वर्ष भारतको आर्थिक वृद्धिदर आठ दशमलव तीन प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै, बंगलादेशले ६ दशमलव चार र श्रीलंकाले तीन दशमलव तीन प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान विश्व बैंकको छ । भुटानको अर्थतन्त्र तीन दशमलव ६ प्रतिशत र पाकिस्तानको अर्थतन्त्र तीन दशमलव चार प्रतिशतले वृद्धि हुने पनि विश्व बैंकको प्रक्षेपण छ । 

लकडाउनका कारण एकचौथाइ श्रमिकले रोजगारी गुमाए 
लकडाउनका कारण नेपालका एकचौथाइ श्रमिक पूर्ण रूपमा रोजगारी गुमाई बेरोजगार भएको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गत वर्ष सन् २०२० गरेको फोन मनिटरिङ सर्भेका अनुसार २५ प्रतिशत श्रमिकले पूर्ण रूपमा रोजगारी गुमाएको देखिएको हो । त्यस्तै, १९ प्रतिशत श्रमिकले चार महिनासम्म रोजगारी गुमाएको पनि सर्भेले देखाएको थियो । त्यस्तै, ४६ प्रतिशत श्रमिकहरूले आय गुमाएको पनि सर्भेले देखाएको थियो ।

सुझावित समाचार