नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख निर्वाचन अधिकृत गायब भएपछि जिल्ला निर्वाचन स्थगित भएको छ। जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिबार राति १० बजेदेखि सम्पर्कविहीन बनेपछि असोज १७ गते तोकिएको निर्वाचन स्थगित भएको हो।
निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि निर्वाचनमा होमिएको दुईवटै प्यानलले एकले अर्को प्यानलका नेताहरूलाई निर्वाचन अधिकृत गायब पारेको आरोप लगाएका छन्।
निर्वाचनमा पूर्वमन्त्री अर्जुनजंगबहादुर सिंह, पूर्वमन्त्री सुरेश मल्ल, पूर्वजिल्ला सभापति सत्यराज भण्डारी, संविधानसभा सदस्य चन्द्रा जोशी र नेता चेतराज बजालले खडक बोहरा सभापति रहेको संयुक्त प्यानल अघि सारेका थए। पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह तथा पूर्वजिल्ला सभापति पृथ्वी सिंहले रमेश भण्डारी सभापति रहेको प्यानल अघि सारेका थिए।
नेताहरूले अघि सारेका दुवै प्यानलको कडा प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको थियो। स्वच्छ निर्वाचन प्रतिस्पर्धामा आफूले समर्थन गरेको प्यानल नै पराजित हुने अवस्था सिर्जना भएपछि मतदान अधिकृतलाई जिल्ला छोड्न बाध्य पारिएको भन्दै एक प्यानलका नेताहरूले अर्को प्यानलका नेताहरूमाथि आरोप लगाइरहेका छन्।
पटकपटक निर्वाचन अधिकृत भट्टसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा सम्पर्क भएन। जिल्ला अधिवेशनका लागि आएका निर्वाचन अधिकृत नै सम्पर्कविहीन भएपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको कांग्रेसका नेता चेतराज बजालले बताए। जिल्ला अधिवेशन स्थगित भएपछि गाउँगाउँबाट निर्वाचनमा सहभागी हुन आएका मतदाताहरू घर फर्केका छन्।