एसियन टेबल टेनिस युनियन (एटिटियू)को आइतबार कतारको दोहामा भएको कंग्रेस बैठकले अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलाई काउन्सिल सदस्यमा चयन गरेको छ । कतारमा भइरहेको २५औँ एसियाली टेबल टेनिस च्याम्पियनसिपको अवसरमा एटिटियू कंग्रेस बैठक बसेको हो । त्यस क्रममा वैद्य चार वर्षका लागि काउन्सिल सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।
वैद्य नेपाल एटिटियूको संस्थापक सदस्य हुन् । दोहामा २८ सेप्टेम्बरदेखि ५ अक्टोबरसम्म एसियाली टेबल टेनिस च्याम्पियनसिप भइरहेको छ । वैद्य एटिटियूको सदस्यमा चयन भएको यो दोस्रोपल्ट हो । यस्तै, अखिल नेपाल टेबल टेनिस संघका महासचिव शंकर गौतम एटिटियूको दक्षिण एसिया उपाध्यक्षमा चयन भएका छन् । यस पदका लागि भारत र नेपालका पदाधिकारी चयन भएकोमा गौतमले चारवर्षे कार्यकालको दोस्रो दुई वर्ष क्षेत्रीय उपाध्यक्षको रूपमा यो पद सम्हाल्नेछन् । भारतीय प्रतिनिधिले सुरुवाती दुई वर्ष जिम्मेवारी सम्हाल्ने निर्णय भएको छ ।
एटिटियूको थप तीन कमिटीमा एटिटियूअन्तर्गतको टेक्निकल कमिटीमा तेजेन्द्र महरा, भेट्रान, एडुकेसन एन्ड ट्रेनिङ कमिटीमा धर्ममान बज्राचार्य र मिडिया कमिटीमा हिमेशरत्न बज्राचार्य चयन भएका छन् ।