नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्। कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रूपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्कसमेत गरे । नेता सिंहले भने,‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धीकरण गर्न र सुदृढ गर्न । अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरि गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ । अब कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ। नत्र भने राम्रो हुँदैन ।’