भिसिटिएसमा पनि छली, ३४ लाख मूल्यबराबरको कपडाको जाँचपास नगर्ने पक्राउ

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण

विराटनगर भन्सारभित्रै जाँचपास छली गरिएको ३४ लाख मूल्यबराबरको कपडा सशस्त्र प्रहरीले राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्टले बिआर ३८ डी ३४४७ नम्बरको भारतीय प्लेटको ट्याक्टर र चालक ३२ वर्षीय पंकज यादवसहित सो कपडा नियन्त्रणमा लिएर कार्यालयमा बुझाएको हो।

यादवले जाँचपासका क्रममा गाडी नम्बर उल्लेख नगरी  भिसिटिएस (भेहिकल्स एन्ड कन्साइनमेन्ट ट्याकिङ सिस्टम)मा छली गरेका बताइएको छ। जाँचपास छली गरी निस्केको ट्याक्टर प्रहरीले विराटनगर– १६ पारिजात चोकबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी गणका एसपी तीर्थ पौडेलले जानकारी दिए।

बुधबार नियन्त्रणमा लिएको कपडासहित ट्याक्टर र चालकलाई बुधबारै राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको पौडेलले बताए । भिसिटिएस नम्बर उल्लेख नगरी भन्सार छली गरेर भारतीय ट्याक्टरमा उक्त कपडा भन्सार एजेन्ट गुलाब साह र उनका प्रतिनिधि मन्छु साहले ल्याएका बताइएको छ। उक्त कपडा विराटनगरस्थित जया इम्पेक्सले आयात गरेको पाइएको छ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले भिसिटिएस प्रणाली भन्सारले नभई राजस्व विभागले हेर्ने भएकोले एजेन्ट र प्रतिनिधिले भिसिटिएस प्रणालीमा विवरण उल्लेख गरे नगरेको थाहा नहुने बताए।
 
आयत गरिएको मालसामानको कम मूल्यांकन गराएर भन्सार छली गर्न भिसिटिएस नम्बर उल्लेख मालवस्तु भन्सार जाँचपास गर्ने गरिन्छ। विराटनगर भन्सारमा यसअघि पनि पटकपटक भिसिटिएस उल्लेख नगरी सामानहरू जाँचपास गर्ने गरिएको खुलेको छ।

यसअघि पनि भिसिटिएस विवरण उल्लेख नगरी एजेन्ट प्रतिनिधि अकलबर अलीले  विराटनगर भन्सारबाट जाँचपास भएको को.२त ६८११ र बिआर ५० जी ५०५३ नम्बरको दुईवटा  ट्याक्टरमा आयात गरेको  कपडालगायतका मालवस्तु पक्राउ गरेर राजस्व कार्यालयले अनुसन्धान गर्दा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो। राजस्वको अनुसन्धानबाट एजेन्ट प्रतिनिधि अलीले १४ लाख मूल्यबराबरको सामान कम मूल्यांकन गराएका थिए भने चार लाख रुपैयाँ मूल्यबराबरको सामानको  भन्सार नै तिरेका थिएनन्।
 
के हो भिसिटिएस सिस्टम ?
भन्सारभित्रबाटै हुने भन्सार छली नियन्त्रण गर्न १ साउन ०७६ देखि   विराटनगर भन्सारमा भिसिटिएस लागू गरिएको थियो। यो सिस्टममार्फत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी भइरहेको छ भनेर निगरानी गरिन्छ।

यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अगाडि एजेन्ट र प्रतिनिधिहरूले सबै विवरण इन्टरनेटमा उल्लेख गर्नुपर्छ। जसले गर्दा राजस्व विभागले ढुवानीको सुरुदेखि अन्तिमसम्म मालवस्तुको निगरानी गर्दछ। भन्सार छली गर्नेहरूले कर्मचारीहरूको मिलेमतोमा मालस्तुको विवरण भिटिएसमा उल्लेख नगरी जाँचपास गराएर भन्सार छली गर्ने गरेको पाइएको छ। किनभने भिसिटिएस विवरण भर्नासाथ कुन जाँचपास भएर गएको सामान कहाँ पुग्यो भन्नेसमेत पत्ता लाग्दछ।

सुझावित समाचार