पाकिस्तानी राजदूतले भेटे प्रधानसेनापति

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

नेपालका लागि पाकिस्तानका कार्यबाहक राजदूत अदनान जाभेद खानले प्रधानसेनापति प्रभुराम शर्मासँग बुधबार शिष्टाचार भेट गरेका छन् । शर्मा प्रधानसेनापति भएपछि पाकिस्तानी कूटनीतिज्ञको यो पहिलो भेट हो । 

जंगी अड्डामा भएको भेटमा दुईपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । पाकिस्तानी कार्यबाहक राजदूत खानले प्रधानसेनापति शर्मालाई बधाई दिएका छन् । 

पाकिस्तान र नेपालका सैनिक एक अर्को मुलुकमा आयोजना हुने तालिम तथा कोर्समा सहभागी हुँदै आएका छन् । दुई देशको सैन्य सम्बन्ध थप सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ । ‘यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रधानसेनापति शर्मालाई यसअघि भारत, चीन र अमेरिकाका राजदूतले शिष्टाचार भेट गरिसकेका छन् । 
 

सुझावित समाचार