कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षामा आरक्षण दिन संसदीय समितिको निर्देशन

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीलाई समेत विद्यमान ऐन, नियमावली संशोधन गरेर भए पनि आरक्षण दिन निर्देशन दिएको हो । 

‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीहरू र स्थाीनयवासीको आरक्षणका सम्बन्धमा चिकित्सा शिक्षा आयोगले सम्माननीय प्रधानमन्त्रीज्यूसँग सल्लाह गरी चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा सम्भव भएसम्म संशोधन गरी आरक्षणको व्यवस्था गर्नू,’ समितिले चिकित्सा शिक्षा आयोगलाई भनेको छ ।

ऐन र कानुनले मिल्नेसम्मको अवस्था हेरेर आरक्षण दिइनुपर्ने समिति सभापति जयपुरी घर्तीको भनाइ छ । ‘कानुनले नै मिल्दैन भने अगाडि बढ्ने कुरा हुँदैन । तर, सम्भव भएसम्म आरक्षण दिइनुपर्छ,’ उनले भनिन् ।

सांसद योगेश भट्टराईले चिकित्सा शिक्षामा काम गर्ने कर्मचारीहरू आर्थिक हिसाबले सम्पन्न हुने भन्दै उनीहरूलाई आरक्षण दिँदा सम्पन्न मानिसमै आरक्षण जाने बताए । ‘आरक्षणले खुला प्रतिस्पर्धाको कोटालाई घटाइदिरहेको छ । खुला प्रतिस्पर्धाबाट नाम निकाल्न योग्य मान्छेहरू पनि पछाडि परिरहेका छन् । आरक्षणका माध्यमबाट त्योभन्दा कम गुणस्तरका पनि आइरहेका छन् । यसलाई म नकारात्मक रूपमा लिन्नँ । तर, सामान्यतया चिकित्सा शिक्षामा काम गर्ने शिक्षकहरू सम्पन्न नै हुन्छन् । यसले गर्दा धेरै आरक्षण सम्पन्नहरूमै जान्छ,’ उनले भने ।

कांग्रेस सांसद मानबहादुर विश्वकर्माले आरक्षण दिइनुपर्ने तर्क राखेका थिए । ‘यो आरक्षण जसरी भए पनि नियमित गर्नैपर्छ । हाम्रो समिति पनि यसमा ‘कमिटेड’ छ । यसलाई कसरी नियमित गर्न सकिन्छ भन्नेबारे चिकित्सा शिक्षा आयोग र मन्त्रालय लाग्नुपर्छ । केहीगरी अहिले गर्न मिल्दैन भने ऐन नै संशोधन गर्नुपर्छ भने त्यसका लागि पनि सिफारिस गर्नुपर्छ,’ उनले भने ।

सांसद खगराज अधिकारीले मणिपाल कलेजको उदाहरण दिँदै त्यहाँ कर्मचारी र स्थानीयले आरक्षण नै नपाएको बताए । ‘कलेजमा कार्यरत कर्मचारीका छोराछोरीलाई दिइने आरक्षणका सन्दर्भमा मणिपाल कलेजमा अहिलेसम्म एउटा पनि आरक्षण पाएनन् । आरक्षण दिने भन्ने कुरा किन कार्यान्वयन भएन ?’ उनले भने ।

बैठकमा एमालेका अन्य सांसदहरूले पनि चिकित्सा शिक्षामा कर्मचारीका छोराछोरीलाई दिइने आरक्षणको विरोध गरेका थिए । सांसद नवीना लामाले चिकित्सा शिक्षामा पाइने आरक्षणको सम्बन्धमा कर्मचारी र नेताले मात्रै जानकारी राख्ने र उनीहरूको छोराछोरीले मात्रै फाइदा लिइरहेको बताइन् । उनले आरक्षण राख्न नहुने धारणा राखेकी थिइन् । उनको भनाइ थियो, ‘कर्मचारीका छोराछोरीका लागि आरक्षण गर्नु हुँदैन । स्कलरसिपको कुरा अरूलाई थाहा हुँदैन, कर्मचारीलाई थाहा हुन्छ ।’

सुझावित समाचार