लुम्बिनीमा पर्यटक भित्र्याउन यहाँका होटल व्यवसायीहरूले सस्तो प्याकेज कार्यक्रम सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा सोमबार लुम्बिनीको पर्यटन पुनरुत्थानका लागि पर्यटन व्यवसायीहरूले सस्तो प्याकेज सार्वजनिक गरेका हुन्।
लुम्बिनी होटेल संघले एक रात दुई दिनको भ्रमण प्याकेज सार्वजनिक गरेको छ। असोज १५ देखि लागू हुने गरी दुई हजार १९९ रुपैयाँमा लुम्बिनीको गाइडेड प्याकेज टुर कार्यक्रम घोषणा भएको संघका महासचिव लीलामणि शर्माले जानकारी दिए।
कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करिब १८ महिनाअघिदेखि विदेशी पर्यटकको आगमन लुम्बिनीमा शून्य छ। धार्मिक पर्यटकको रूपमा भारतबाट आउने पर्यटकसमेत नाका बन्दका कारण आउन नसकिरहेको अवस्थामा व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो प्याकेज घोषणा गरेका हुन्।
यस्तो छ प्याकेज
प्याकेजको पहिलो दिन पर्यटकलाई बसपार्कबाट पिकअप गरी होटेलमा स्वागत गरिनेछ। सोही दिन लुम्बिनीबारे जानकारी दिई केहीबेरको विश्रामपछि साँझ लुम्बिनी तथा बुद्धग्राम रोबोटिक थिएटर भ्रमण गराई रात्रिभोजन गराई विश्रााम दिइनेछ।
प्याकेजको दोस्रो दिनमा बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमण, दिउँसोको खाना तथा विश्राम र बिदाइ रहेका छन्।
संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफास्ट, धूपबत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमणका लागि यातायातको व्यवस्था छन्।