सिद्धनाथ मन्दिर संरक्षण समितिको बदमासी, प्रक्रिया मिचेर मन्दिरमा चढाइएका घन्टी बिक्री

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

कञ्चनपुरको सिद्धनाथ मन्दिरमा भक्तजनले चढाएका घन्टी मन्दिर विकास समितिले नै सेटिङमा प्रक्रिया नै नपुर्‍याई बिक्री गरेको पाइएको छ। भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरमा रहेको मन्दिरमा चढाइएका घन्टी मन्दिर विकास समितिले प्रक्रिया मिचेर बेचेको खुलेको हो।

मन्दिर विकास समितिले मन्दिरमा रहेका घन्टी विनासूचना, प्रक्रिया मिचेर एक भारतीय नागरिकमार्फत महेन्द्रनगरको न्यु ठकुराठी ब्रदर्स भाँडावर्तन पसलमा बिक्री गरेको पाइएको छ। मन्दिर समितिले टुटफुट भएको र पुराना भन्दै लाखौँ मूल्यबराबरको काँस, पित्तल तथा धातुले बनेका घाटघन्टी कौडीको भाउमा बेचेको हो। शनिबार प्रहरीले ठकुराठी ब्रदर्सको गोदामबाट मन्दिरका घाटघन्टी बरामद गरेपछि मन्दिर समितिले हरेक वर्ष दर्शनार्थीले चढाएको घाटघन्टी बेच्दै आएको रहस्य खुलेको छ।

लिलाम गर्नुपर्ने कबाड भए पनि एकै मिति २१ भदौ ०७८ मा तीन भारतीयले विनाप्रमाण कोटेसन खरिद गरेको नक्कली कागजात खडा गरेका छन्। भारतीय नागरिकलाई भीमदत्त नगरपालिका– ३ भाँसीनिवासी देखाइएको छ। गुड्डु अन्सासी, इरसाद अन्सारीलगायत भारतीय नागरिकमार्फत घन्टी बेचिएको हो।

२१ साउन ०७८ मा मन्दिर समितिका सचिव पुष्करराज उप्रेती नेतृत्वको उपसमितिले गुड्डी अन्सारीलाई बिक्री गरेको हो। साना खालका सफा घाटघन्टी प्रतिक्विन्टल ६ सय रुपैयाँका दरले ५० किलोग्राम, टुटफुट तथा अन्य घन्टीहरू प्रतिक्विन्टल पाँच सय रुपैयाँका दरले ६ सय ७० किलोग्राम, राला प्रतिक्विन्विन्टल ६ किलो कट्टा हुने गरी ३० रुपैयाँका दरले ४७ किलोग्राम कुल तीन लाख ६६ हजार चार सय १० रुपैयाँमा बिक्री गरेको जनाइएको छ।

घाटघन्टी खरिददाता अन्सारीसँग नगद लिएर समितिका सचिव उप्रेतीले आफैँले बैंक दाखिला गरेका छन्। यसरी लिलामबापतको रकम एकैपटक बैंकमा जम्मा गर्नुपर्ने भए पनि दुईपटक गरिएको पाइएको छ। उनले २४ भदौ ०७८ मा एक लाख ८० हजार तीन सय र २९ भदौ ०७८ मा एक लाख ८६ हजार एक सय १० रुपैयाँ जम्मा गरेका थिए। ती दुवैको गोश्वरा भौचर १ असोज ०७८ मा तीन लाख ६६ हजार चार सय १० रुपैयाँमा जम्मा गरेको पाइएको छ। बैंक भौचर र गोश्वरा भौचर फरकफरक मितिमा भरेरसमेत गल्ती लुकाउन खोजिएको छ।

१५ पुस ०७७ मा मन्दिर विकास समितिका अध्यक्ष हिक्मत भण्डारीको अध्यक्षतामा बसेको १५औँ वार्षिक साधारण सभाको प्रस्तावमा १ देखि ६ नम्बर राखिएको छ। तर, प्रस्तावमा ५ नम्बर नै नराखी निर्णय भने गरिएको छ। ६ नम्बरमा राखिएको ‘कार्यसमितिको निर्वाचन सम्बन्धनमा’ प्रस्तावमा निर्णय नम्बर ६ राखेर ‘साधारणसभामा उठेको छलफल र सुझाबअनुसार मन्दिरभित्र चढेका पुराना त्रिशूल, टुटाफुटा साना ठूला घाटघन्टीसमेत लिलाम प्रक्रियाअनुसार बिक्री गरी मन्दिरभित्र नै बन्ने अन्य मूर्ति ठूला घाट आदि सामग्री निर्माणमा लगानी गर्ने’ निर्णय गरिएको छ। प्रस्तावविनै गरिएको निर्णयले समितिको नियतमाथि शंका उब्जाएको छ । घन्टी बेचेपछि मात्रै उक्त निर्णय राखिएको देखिन्छ। 

साधारणसभाले समेत बहुसंख्यक उपस्थितिविना नै निर्णय गरेको थियो। निर्णयअनुसार पनि सार्वजनिक सूचनादेखि अन्य प्रक्रियाविना सीधै भारतीय नागरिकलाई बीचमा देखाएर बिक्री गरिएको छ। साधारणसभाबाट पारित गरिएको निर्णय सूचना प्रकाशित नगरी नाै महिनापछि कोटेसन निवेदन माग गरिएको छ। 

२ साउन ०७८ मा मन्दिर समितिका अध्यक्ष भण्डारीकै अध्यक्षतामा बसेको बैठकले पाँच प्रस्ताव अघि सारेको देखिन्छ। ४ नम्बरको प्रस्तावअनुसार मन्दिरमा मौज्दात रहेका पुराना, साना तथा टुटफुट भएका घाटघन्टी, त्रिशूल बिक्री गरी त्यसबाट भएको आम्दानीले ठूलो घाट र पित्तलको मूर्ति खरिद गर्ने निर्णय गरिएको छ। मन्दिर समितिले नाै सय ७६ किलो घाटघन्टी तीन लाख ६६ हजार चार सय १० रुपैयाँमा बेचेको घन्टी न्यु ठकुराठी ब्रदर्सले सात सय ६७ किलोग्राम पाँच लाख ३६ हजार नाै सयमा बेचेको पाइएको छ। 

सिद्धनाथ मन्दिर विकास समितिभित्र यसरी घाटघन्टी बिक्री वितरणमा भएको बदमासी र आर्थिक अनियमितता गतिलो उदाहरण बनेको छ। धर्मका नाममा समितिका पदाधिकारी राजनीतिक र आर्थिक लाभमा लिप्त भएको स्थानीयको बुझाइ छ। कुनै दर्शनार्थी, झक्तजनले आस्थास्वरूप चढाएका घाटघन्टी, त्रिशूललगायतका सामग्री कौडीको भाउमा बेची आस्थामाथि प्रहार गर्ने काम भएको भन्दै उनीहरू आक्रोशित भएका छन्। धार्मिक क्षेत्रमा भेट चढाइएका सामग्री खरिद–बिक्री कार्य धर्ममाथि प्रहार मात्र नभई आर्थिक रूपमा अनियमितता भएको भन्दै स्थानीयले कारबाहीको माग गरेका छन्।

मन्दिर विकास समितिका सचिव उप्रेती भने प्रक्रिया गलत भए पनि मन्दिरको सम्पत्ति मन्दिरकै लागि प्रयोग गर्ने अभिप्रायले बेचेको बताउँछन्। समितिका अध्यक्ष भण्डारी पनि साधारणसभा र निर्णय गरेर बेचेको बताउँदै आफूले व्यक्तिगत कमाउन नभई मन्दिरकै हितका लागि गरेको भन्दै बचाउ गर्छन्। उनले विधानअनुरूप बेचबिखन भएको भन्दै पशुपतिमा समेत पुराना सामान बिक्री हुँदै आएको तर्क राखे। मन्दिरका घाटघन्टी खरिद गरेका न्यु ठकुराठी ब्रदर्सका सञ्चालक पदम ठकुराठीले समितिसँगको सल्लाहमा गुड्डु अन्सारीबाट खरिद गरेको बताए। 

भीमदत्त नगरपालिका– ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले मन्दिर समितिले गलत गरेको प्रतिक्रिया दिएका छन्। ‘प्रक्रियाविनै बेचेका छन्,’ उनले भने, ‘अर्कातिर धार्मिक आस्थामाथि प्रहार भएको छ। जनताले चढाएका मूर्ति, घाटघन्टी, त्रिशूल संरक्षण गर्नुको साटो बेच्ने कार्य राम्रो होइन।’ 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले मन्दिरका पुराना घाटघन्टीलाई न्यु ठकुराठी ब्रदर्स भाँडावर्तन पसलबाट बरामद गरिएको बताए। उनका अनुसार उक्त पुराना घाटघन्टीलाई पसलले चम्काएर नयाँ बनाएर बेच्ने प्रयोजनका लागि पेन्टिङ गरिरहेको अवस्थामा बरामद भएको हो। 

मन्दिरका घाटघन्टी व्यापारीको पसलमा पुग्नु घृणित कार्य : विद्यार्थी संगठन
कञ्चनपुरका विद्यार्थी र युवा संघ–संगठनले आस्थास्वरूप मन्दिरमा चढाइएका घाटघन्टी व्यापारीको पसलमा पुग्नु घृणित कार्य भएको भन्दै आपत्ति जनाएका छन्। चार विद्यार्थी–युवा संघसंगठनले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), वाइसिएल र  नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, युवा संघ नेपालले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले मन्दिर विकास समिति खारेज गरी दोषीउपर कारबाही गर्न माग गरेका छन्।

सुझावित समाचार