कांग्रेसमा पार्टी कब्जाको षड्यन्त्र

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

हेर्दाहेर्दै मुलुक जीवन–मरणको दोसाँधमा पुगेको छ, तर सत्ताको अन्धो आकांक्षाले कुनै राजनीतिक दलको पनि आँखा खोलिदिन सकेन । सबै पार्टीका धुरीबाट विग्रह, स्वार्थ, सिद्धान्तहीनता र अनैतिकताको दूषित धुँवाको मुस्लो निस्किरहेको छ । कुनै पनि पार्टी आफ्नै नेताबाट बर्बादीको दुर्दशा भोग्न विवश छ र नेताका वरिपरि माफिया, तस्कर, दलाल, भ्रष्ट, चाकरीबाज, लठैत र दासहरूको बोलवाला छ भने त्यहाँ निष्ठावान् कार्यकर्ताको के महŒव ! नेपाली कांग्रेसभित्र नेता–निर्मित अस्तव्यस्तता दिनदिनै घनीभूत भइरहेको छ । यो पार्टीभित्र दलीय संस्कार वा संगठनात्मक चरित्र पूरै विध्वंस भइरहेको छ । नेताहरूबाट ‘सिंहदरबार प्राप्ति’को अन्धो–लोभमा आफ्ना पार्टीलाई शौचालय नै बनाए । यसमा पनि नेपाली कांग्रेसको दुर्दशा झन् भयावह छ । 

लाक्षणिक रूपमा कांग्रेस साउन्ड–ट्र्याक बिग्रेको ग्रामोफोन रेकर्डजस्तो भयो, जसले ‘लोकतन्त्र’ शब्दको निरर्थक सुगा–रटानबाहेक केही बोल्न सक्दैन । यदुवंशी चरित्रको आपसी कलह र लुछाचुँडी, ‘अपुंगी राजा’ मनोवृत्ति र विग्रहको अनन्त अग्निले पार्टीलाई रुग्ण बनाइरहेको छ । कुनै पनि पार्टीको अवसान, जनविश्वास गुमाएपछि उत्पन्न अधोगति क्रमैले हुन्छ । तर, कांग्रेसमा चाहिँ निःसर्त पाएको जनविश्वासलाई पनि लोभ, नैतिकहीनता र अराजकताले ग्रस्त नालायक नेतृत्वका कारण पार्टीलाई धराशायी बनाउने हर्कत चलिरहेको छ ।

नेकपा (एमाले)को विभाजन र दुर्दशालाई हेरेर कांग्रेस सभापति देउवाले पार्टी सम्हाल्ने र सुधारोन्मुख गराउने कोसिस गरेको देखिएन । अरूको पार्टी फुटेको दुर्दशा हेरेर देउवालाई सच्चिन मन रहेनछ भन्ने यथार्थ उनी स्वयं सत्तार्थ कांग्रेसलाई इतिहासमा पहिलोपटक ०५९ सालमा फुटाएको घटनाका रचनाकार भएकाले वर्तमानमा समेत त्यही मानसिकताबाट पार्टी सभापति पदमा विराजमान भएको निष्कर्ष बन्न पुग्छ । नेपालको राजनीतिक इतिहासमा आफ्नो पार्टी फुटाएर हिँडेको व्यक्ति त्यही पार्टीमा फर्केर सर्वोच्च पदाधिकारी भएको रेकर्ड नै छैन । तर, अपवादस्वरूप गिरिजाप्रसाद कोइरालाले देउवालाई पार्टीमा रेड कार्पेट बिछ्याएर भित्र्याए र कांग्रेस सभापति हुने बाटो खोलिदिए । पार्टी अनुशासनलाई तिलाञ्जली दिएर रचिएको यही अराजकतावादी घटना कांग्रेस अधोगतिको बिन्दु बन्यो । 

खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा उनैको ‘स्याटेलाइट पार्टी’ बन्नुलाई देउवाले सहज रूपमा अंगीकार गरेका थिए । प्रमुख प्रतिपक्षको जिम्मेवारी बोकेको देउवा नेतृत्वको कांग्रेसले प्रतिपक्षी बेन्चमा मुर्दाशान्ति थोपरेर ओलीको शासनलाई काँध हालेकै हो । ०७४ सालको स्थानीय निर्वाचनताका माओवादीको भरिया बनेर आफ्नो नेतृत्वको पार्टीलाई अभूतपूर्व धक्का दिनमा पनि उनको भूमिका निर्णायक थियो । यसरी पालैपालो एमाले र माओवादीको ताबेदारी गरिरहँदा कांग्रेस अरूको बैसाखीविना उभिन वा हिँड्न नसक्ने औकातमा पुग्यो । सभापति पद ओगटिरहने उग्र भोकबाट ग्रसित भएपछि कांग्रेसले आज यो दुर्दशा भोग्नुपरिरहेको हो ।

देउवाले विमलेन्द्र निधिलाई सार्वजनिक आश्वासन दिएका थिए, ‘चौधौँ महाधिवेशनमा सभापतिका लागि मेरो उम्मेदवार विमलेन्द्र निधि हो, मैले उनलाई वचन दिइसकेको छु ।’ कहाँ गयो त्यो वचन ?

आज पनि कांग्रेसको स्वाभिमान गिराउँदै, माओवादी र माधव नेपाल नेतृत्वको कम्युनिस्ट पार्टीप्रति देउवाको लज्जास्पद चाकरी गर्नेलाई भन्दा देख्नेलाई कुरीकुरीलाग्दो भइरहेको छ । कांग्रेसका संस्थापक नेता, आधुनिक नेपालका अधिष्ठाता एवं प्रजातान्त्रिक आन्दोलनका अतुलनीय योद्धा सुवर्ण शमशेरको समकक्षी बनाउँदै कम्युनिस्ट नेता झलनाथ खनाललाई ‘राष्ट्र गौरव विभूषण’ दिने घोषणा, प्रचण्ड–पत्नी सीता दाहाललाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र माधव नेपालका स्वर्गीय पिता मंगलप्रसाद उपाध्यायलाई ‘प्रबल जनसेवाश्री’ बाट विभूषित गर्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाबाट भएको चाकरी संस्कार तथा ताबेदारी मानसिकताको द्योतकसिवाय केही होइन । 

तेह्रौँ महाधिवेशन (२०७२) को वेलामा सभापतिको उम्मेदवारी घोषणा गरेको सन्दर्भमा देउवाले हालका उपसभापति विमलेन्द्र निधिलाई सार्वजनिक रूपमै आश्वासन दिएका थिए, ‘चौधौँ महाधिवेशनमा सभापतिका लागि मेरो उम्मेदवार विमलेन्द्र निधि हो । मैले उनलाई वचन दिइसकेको छु ।’ कहाँ गयो आज त्यो वचन ? पाँचपटक मुलुकको प्रधानमन्त्री भएर पाँचौँपटक पनि पार्टीको नयाँ होनहार पुस्तालाई नेतृत्वको मौका दिन नचाहने प्रवृत्ति, कांग्रेसलाई फलेको फुलेको देख्न नचाहने घातक मनोवृत्ति हो । विमलेन्द्र निधिलगायत गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे आदि पार्टीमा नेतृत्व सम्हाल्न सक्ने नयाँ पुस्ताका पचासौँ नेताहरू स्थापित भइसकेका छन् । तर, देउवालाई पार्टी सभापतिको हैसियतले भावी कांग्रेसको नेतृत्वबारे चिन्तन, चिन्ता र संवेदनशीलता एकरत्ती देखिएन ।

कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरले ६५ वर्षको उमेरमा आफूसँग भएको कार्यवाहक सभापति पद जननायक बिपी कोइरालालाई फर्काउनुभयो । पार्टीका संस्थापक नेता बिपीले ६३ वर्षको उमेरमा ०३४ सालमा कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति पद जिम्मा दिनुभयो । बिपीले नै ०३६ सालमा आफैँ प्रधानमन्त्री बन्ने लोभ नदेखाएर परशुनारायण चौधरीलाई बनाउने सार्वजनिक घोषणा गर्नुभयो । सर्वोच्च प्रजातन्त्रवादी नेता गणेशमान सिंहलाई ०४७ सालमा राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा उहाँले कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई प्रस्तावित गर्नुभयो । राजाबाट पनि सो प्रस्तावलाई सहज रूपमा स्वीकार गरेपछि किसुनजी अन्तरिम कालको प्रधानमन्त्री बन्नुभयो । यस्तो आदर्श संस्कार र लोकतान्त्रिक परम्परा भएको कांग्रेसमा आज देउवाबाट सारा लोकतान्त्रिक पद्धति, आचरण र संस्कारलाई ध्वस्त गरी सबै आफैँ हुने, तर बिगार्नुबाहेक केही नगर्ने चरित्रको बोलवाला बढेर गएको छ ।

यही दुर्दशा आज देउवाकै गृहजिल्ला डडेलधुराका कार्यकर्ता समुदायमा प्रदर्शित भइसकेको छ । प्रहरीको कडा सुरक्षा घेरामा कांग्रेसको वडा अधिवेशन गराउनुपर्ने अवस्थाले देउवाकै राजनीतिक पराजय र दयनीय अवस्थालाई झल्काइरहेको छ । तर, नैतिकता र आदर्शलाई बाधक वा बेकारको कुरा ठान्ने देउवालाई यस्ता कुराले छुँदैन । आफ्नो अभिमान बढाउँदा पार्टीको स्वाभिमान गिरेको अनुभूति नगर्ने उनीजस्ता नेताबाट कांग्रेसको स्वाभिमानको अपेक्षा गर्नु अपेक्षा गर्नेकै राजनीतिक मूर्खता ठहर्छ । यस्ता नेताबाट कांग्रेसको महाधिवेशन, यसका लोकतान्त्रिक आदर्श र परम्पराअनुरूप निष्पक्ष, पारदर्शी, न्यायोचित र स्वच्छ तरिकाले हुन सक्छ भन्ने अपेक्षा गर्ने आधार नै रहँदैन । अबको नेतृत्व पनि देउवालाई नै दिने र नेतृत्वबाट यस्तै गतिविधि निर्बाध चलिरहने हो भने ‘कांग्रेस’ नामको पार्टी त रहला, तर निर्णायक राष्ट्रिय शक्ति हुन कदापि सक्दैन । 

अर्कातिर, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गतिविधि र भूमिका पनि देउवाका हर्कत र मनपरीलाई नियन्त्रण गर्ने ताकत बन्न सकेन, केवल देउवाको भागबन्डामा उनले निगाह गरेको सानो भागमा चित्त बुझाउने रबैया मात्र देखियो । कांग्रेसका ५० भन्दा बढी बहालवाला जिल्ला सभापतिहरू उनीबाट केही होला भन्ने संगठित अपेक्षा राख्छन् । तर, आफ्नो निजी अस्तित्वको चिन्ताबाहेक सामूहिक हितको पक्षमा केही पनि गर्न नसक्ने र देउवाविरुद्ध पार्टीभित्र उर्लिरहेको लहरलाई सम्बोधन गर्न पनि नसकेको नालायकी मात्र प्रदर्शित गरिरहेका छन् । 

कोरोना महामारीले थिलथिलो बनाएको, ‘लोकतान्त्रिक गणतन्त्र’को नाममा ‘समाजवादउन्मुख’ यसअघिको ओली शासनले अस्तव्यस्त पारेको, तस्कर, कालोबजारिया तथा आर्थिक अपराधी अर्थतन्त्रमा हावी भएको, भ्रष्टाचारले दयनीय तथा कहालीलाग्दो अवस्थामा पुर्याएको, ‘राजनीतिक महाभारत’ले सामाजिक प्रणाली ध्वस्त बनाएको, विदेशी हस्तक्षेपले गिजोलेको, बिखण्डनकारी नियतले टाउको उठाएको, गरिखाने युवाशक्ति बेरोजगार र आजित भएर विदेश पलायन भइरहेको जस्ता भयावह परिसूचकका बीच देशको सबभन्दा जेठो र प्रजातन्त्रवादी पार्टी कांग्रेस आफ्नो चौधौँ महाधिवेशनतिर गइरहेको छ । नसुध्रिएको कांग्रेस नेतृत्वले चौधौँ महाधिवेशनमा पनि घुँडा टेकेर सत्ताको अनैतिक र सिद्धान्तहीन आशक्ति देखाएर सभापति पद कायम राख्न खोजेको देखिन्छ । देउवा–नेतृत्वको कांग्रेसको भविष्य खतरनाक मोडमा पुगेको वास्तविकता देउवाबाहेक सबैमा जाहेर भइसक्यो । 

[email protected]

सुझावित समाचार