नयाँ पार्टी बनाउन साथ दिएकालाई माधवले दिए पदैपद
एक महिनाअगाडि निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणापत्र पाएको नेकपा (एकीकृत समाजवादी)ले एमालेको भन्दा ठूलो केन्द्रीय कमिटी बनाएको छ । तीन दिन चलेर बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित पार्टी केन्द्रका कमिटीका आकार तय गरेको छ ।
बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । त्यस्तै, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो बनाउनेसमेत निर्णय गरेको छ । बैठकले १८ सदस्यीय पदाधिकारी पनि चयन गरेको छ । माधव नेपाल अध्यक्ष रहेको पदाधिकारीमा दोस्रो वरीयतामा वरिष्ठ नेता झलनाथ खनाल छन् । अन्य पदाधिकारीभन्दा माथि रहने गरी तेस्रो वरीयतामा मुकुन्द न्यौपानेलाई पार्टी नेताका रूपमा राखिएको छ ।
त्यस्तै, महासचिवमा बेदुराम भुसाल, उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र जयन्ती राई चयन भएका छन् । उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल छन् । यस्तै, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र राजेन्द्र राई रहनेछन् ।
योगदान, इतिहास, योग्यताका आधारमा पदाधिकारी छनोट गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकपछि उनले भने, ‘जिम्मेवारी बाँडफाँडमा योगदान, इतिहास, योग्यता, क्षमता सबैलाई आधार बनाइएको छ । मूलतः पुराना केन्द्रीय कमिटीका सदस्यहरू, पुरानो पोलिटब्युरोका सदस्यलाई अथवा सिनियर नेता–कार्यकर्तालाई अगाडि बढाउने नीति लिएको छ ।’
पार्टी विभाजन हुँदा तत्कालीन एमालेका ५५ केन्द्रीय सदस्यले नेपाललाई साथ दिएका थिए । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा एकीकृत समाजवादीका २३ र एमालेका ९७ सांसद छन् । राष्ट्रिय सभामा एकीकृत समाजवादीका सात र एमालेका २६ सांसद छन् । यद्यपि, आयोगमा सनाखत गरेकामध्ये शारदादेवी भट्ट र सोमप्रसाद पाण्डेले पनि अदालतबाट सनाखतका लागि मान्यता पाएका छन् । सनाखत गर्ने माया ज्ञवाली र तुलसा थापा अनिर्णीत छन् ।
प्रदेश १ मा एकीकृत समाजवादी १० र एमाले ४१, प्रदेश २ मा एकीकृत समाजवादी १३ र एमाले आठ, बागमती प्रदेशमा एकीकृत समाजवादी १३ र एमालेका ४३, गण्डकी प्रदेशमा एकीकृत समाजवादी शून्य र एमाले २७, लुम्बिनी प्रदेशमा एकीकृत समाजवादी एक र एमाले ३६, कर्णाली प्रदेशमा एकीकृत समाजवादी तीन र एमाले १३ तथा सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी १४ र एमालेका ११ सांसद छन् ।
एकीकृत समाजवादीले यसअघि नै प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथप्रसाद साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेश केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भगवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला, सुदूरपश्चिम प्रदेशमा गरिमा शाह इन्चार्ज भएका छन् ।
नेकपा एसले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने निर्णय लिएको छ । राष्ट्रिय हितविपरीत रहेको भन्दै यसलाई परिमार्जन गरेर मात्रै पारित गर्नुपर्ने उसको धारणा छ । ‘एमसिसीको विषय अत्यन्तै ठूलो चर्चा भइरहेको छ । यो राष्ट्रिय हितको अनुकूल नभएकाले यसलाई पारित गरेर अघि बढ्न नसकिने, राष्ट्रिय हितको अनुकूल बनाई र राष्ट्रिय सहमति कायम गरी मात्रै अघि बढ्न सकिनेछ । आजको अवस्थामा अघि बढ्न सकिँदैन भन्ने प्रस्ताव हामीले पारित गरेका छौँ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।
बैठकमा अध्यक्ष नेपालले एमालेका नेताहरूले आफूहरूविरुद्ध अनर्गल प्रचार गरेको आरोप लगाएका थिए । ‘प्रतिद्वन्द्वीका रूपमा रहेको एमालेले हाम्राविरुद्ध अनर्गल प्रचार गरिरहेको छ । आज मैले भाषण सुनेँ कि अब हाम्रो पार्टी अर्काे पार्टीमा मिसिन गइरहेको छ । यो शतप्रतिशत होइन, हजार प्रतिशत गलत छ । हाम्रो पार्टी कसैसित मिसिनुपर्ने आवश्यकता छैन । यसको आफ्नै जग बलियो छ ।’
नेपालले बैठकमा गठबन्धन नटुट्ने पनि केन्द्रीय समितिलाई जानकारी गराए । ‘हामी पाँच दलको गठबन्धनमा सहभागी छौँ । यो सरकारलाई समर्थन गरेका सबै दलबीच र नेताहरूबीच निकै राम्रो सम्बन्ध छ,’ उनको भनाइ थियो, ‘बाहिर कसैले हल्ला फिँजाउन खोजे पनि यो गठबन्धन टुट्छ, फुट्छ, सरकार ढल्छ भन्नेमा कुनै सत्यता छैन ।’
नेपालले आफूहरू जबजमै दृढ रहेको पनि प्रतिबद्धता व्यक्त गरेका थिए । ‘कसै–कसैले भ्रम पैदा गर्न खोजेका छन्, नेकपा (एकीकृत समाजवादी)ले जबज छाड्न थाल्यो । यो सम्पूर्ण रूपमा गलत छ,’ उनले थपे, ‘एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनदेखि त्यसले अगाडि सारेको सिद्धान्त, नीति, कार्यक्रम र राजनीतिक कार्यदिशामा दृढताका साथ उभिन्छौँ । त्यसलाई समय परिस्थितिअनुसार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै जबजको मूल्य र मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्ने पक्षमा हामी दृढ छौँ ।’
प्रचार विभाग प्रमुख खतिवडाले पनि पत्रकारहरूसँगको कुराकानीमा जबजको सक्कली प्रतिनिधि आफूहरू रहेको बताए । उनले भने, ‘जबजको भनेको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण पनि हो । जबज भनेको नेपाली जनताको जीवनशैली, स्तर र उसको आदर्श पनि प्रतिनिधित्व गर्ने राजनीतिक प्रणालीको एउटा व्याख्या हो, यसकारण हामी जबजलाई सही ढंगले प्रतिनिधित्व गर्दछौँ । जबजका सक्कली प्रतिनिधि हामी हौँ ।’
पार्टीमा आकर्षण छ, त्यही कारण कमिटी ठूला बने : बेदुराम भुसाल, महासचिव, नेकपा एस

पार्टी भर्खर जन्मेको छ, बोक्नै नसक्ने कमिटी किन बनाउनुभयो ?
अहिले कमिटीमै बसेर काम गर्ने धेरै साथीहरूको इच्छा छ । पार्टीमा आकर्षण छ । अरू पार्टीले पनि ठूलाठूला कमिटी नै बनाएर चलिरहेका छन् । त्यसै सन्दर्भमा साथीहरूलाई समेट्नका निम्ति ठूलो कमिटी बनाइयो । तर, साह्रै ठूलो भयो भन्ने पनि लाग्दैन । हामीले नेकपा हुँदा साढे चार सयजतिको बनाएका थियौँ । अहिले त तीन सय एकको बनाएका छौँ ।
पार्टीका कमिटी त एमालेको भन्दा ठूला बनाउनुभएछ, मान्छे भाग्छन् भन्ने डरले हो कि ?
हामीसँग जम्मा तीन सय मानिस मात्र होलान् र ? त्यस्तो होइन । जिम्मेवारी लिएर काम गर्ने साथीहरूको इच्छा छ । यस्तो वेला उत्सुकतासहित काम गर्न चाहने साथीलाई ठोस जिम्मेवारी दिनुपर्छ भन्ने पनि हो ।
यी कमिटीले गर्छन् के ?
कमिटीमा बसेकालाई विभिन्न जिम्मेवारी दिइन्छ । जिल्लामा इन्चार्ज, सहइन्चार्ज बनाउँछौँ । विभाग प्रमुख, उपप्रमुख बनाउँछौँ । जनसंगठनहरूमा इन्चार्ज, सहइन्चार्ज बनाउँछौँ । यस्तै–यस्तै जिम्मेवारी दिएर पठाउँछौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो । जिम्मेवारीमा भूमिका निर्वाह गर्ने हो । पार्टीले तय गरेको कार्यदिशा सफल पार्न आ–आफ्नो जिम्मेवारीको क्षेत्रहरूमा प्रभावकारी ढंगले काम गर्नुपर्छ ।
तपाईंहरूले बनाएका कमिटीले एमालेसँग प्रतिस्पर्धा गर्लान् ?
मज्जाले प्रतिस्पर्धा गर्न सक्षम छन् । हामी जुध्छौँ । जुध्ने भनेको भौतिक रूपमा जाइलाग्ने होइन । बल लडाउने होइन, बुद्धि लडाउने हो । हामीसँग बुद्धि छ, नयाँ कार्यदिशा छ । समाजवादतर्फ अघि बढ्ने नारा नै दिएका छौँ । समाजवादतर्फ जान चाहनेको प्रतिनिधित्व गर्ने हो । त्यो विचार उहाँहरू (एमाले)सँग छैन । उहाँहरूसँग पछौटे विचार छ ।