अमेरिकाले चिनियाँ औद्योगिक नीति नक्कल गर्न छाड्नुपर्छ

मंगलबार, ५ असोज, २०७८
डिजिटल संस्करण

अमेरिकाको राजनीतिक नेतृत्वले लामो समयदेखि चिनियाँ औद्योगिक नीतिलाई प्रतिवाद गर्ने प्रयास गर्दै आएको छ । यसक्रममा धेरैजसो उनी चीनकै नीतिको नक्कल गर्न खोज्छन् । तिनको यो शैलीमा चीनप्रतिको गम्भीर अनभिज्ञता स्पष्ट हुन्छ । चीनले अधिनायकवादी शासन र गतिशील बजार अर्थतन्त्रलाई सँगसँगै अघि बढाइरहेको छ । चीनको सत्तारूढ दलले कहिलेकाहीँ त्यहाँको दशौँ लाख व्यवसायलाई सत्ताको उद्देश्यअनुरूप हिँड्न आग्रह गर्छ । पश्चिमी मुलुकमा यस्तो सम्भव हुँदैन र यो मार्ग हिँड्नु पनि हुँदैन । अमेरिकाले आज चीनलाई प्रतिवाद गर्न अघि बढाएको आर्थिक नीति गलत दिशामा लक्षित छ । 

उदाहरणका लागि, अमेरिका चिनियाँ सरकारी स्वामित्वका व्यवसायले पाइरहेको अनुदानबाट त्रसित छ । चीन सरकारले ती व्यवसायलाई समर्थन दिन रोकोस् भन्ने उसको चाहना छ । जबकि, सरकारी व्यवसायलाई आर्थिक अनुदान दिएकाले चिनियाँ निजी व्यवसायले आवश्यक स्रोत नपाएको प्रमाण छन् । चिनियाँ व्यवसायमध्ये हुवावे तथा अलिबाबाजस्ता निजी व्यवसायले मात्र अमेरिकालाई चुनौती दिन सकेको छ । चिनियाँ सरकारी विमाननिर्माता कोम्याकबाट अमेरिकाले कुनै चुनौती सामना गरेको छैन । कोम्याकले न त आजसम्म कुनै नाफा कमाउन सकेको छ, न यसकै कारण बोइङको समकक्षी चिनियाँ निर्माता कम्पनी बन्न सकेको छ । 

आज चिनियाँ अर्थतन्त्रको मेरुदण्ड रहेको निजी फर्महरू सन् २००० को सुरुवातमा तत्कालीन प्रधानमन्त्री झु रोङजीले सयौँ सरकारी स्वामित्वको कम्पनी बन्द गर्ने वा निजीकरण गर्ने कामपछि देखिन थालेका थिए । त्यसवेला सरकारी कम्पनी बन्द हुँदा निजी फर्ममा पँुजी बहाव बढ्यो र त्यसैको जगमा तिनको वृद्धि सम्भव भयो । प्रधानमन्त्री झुले गरेको सुधारलाई उल्ट्याएर चिनियाँ अर्थतन्त्र सबल हुने दिशामा बढ्दैन ।

अमेरिका चीनले अगाडि सारेको ‘मेड इन चाइना २०२५’ योजनाबाट पनि भयभीत देखिन्छ । यस योजनाअन्तर्गत चिनियाँ सरकारले सेमिकन्डक्टरजस्ता ‘रणनीतिक’ क्षेत्रका निजी व्यवसायलाई अनुदान दिनेछ । तर, यस कार्यक्रममा खर्चिएको अर्बौं डलरको खर्च प्रभावकारी भएको पूर्ण स्पष्ट नभइसकेको भए पनि तथ्यांक त्यति आशाप्रद छैन । यति धेरै लगानीका बाबजुद आज विश्वको प्रमुख सेमिकन्डक्टर निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी हो, नकि सांघाई सेमिकन्डक्टर । सरकारले दिएको अनुदान रकमप्रति पर्याप्त उत्तरदायी हुनुनपर्ने भएकाले रकम गलत रूपमा खर्च हुने सम्भावना बढेको छ ।

चीनको व्यावसायिक क्षेत्रको वृद्धि हुनुमा सरकारी स्वमित्वमा रहेको व्यवसाय अथवा औद्योगिक नीतिको भूमिका छैन । खासमा त्यहाँको शक्तिशाली स्थानीय सरकारले निजी क्षेत्रलाई दिइरहेको समर्थनले आर्थिक वृद्धिमा ठूलो टेवा दिएको छ । बेइजिङ तथा सांघाईजस्ता ठूला सहरका अधिकारी ठूला व्यवसायलाई आकर्षित गरेर सहरको प्रतिष्ठा बढाउन एक प्रकारको प्रतिस्पर्धा नै चल्छ । आफूले सहरमा देखाएको कामले पछि कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो सदस्यताका लागि प्रतिस्पर्धा उपयोगी हुने भएकाले पनि यस्तो प्रतिस्पर्धा निम्तिने गर्छ । जबकि, चीनको केन्द्रीय मन्त्रीहरू यो निकायमा पुगेको देखिँदैन । 

अमेरिकाको दबाबमा चिनियाँ सरकारी व्यवसायले पाइरहेको सरकारी अनुदान अन्त्य भयो र त्यससम्बन्धी औद्योगिक नीति खारेज भयो भने त्यसले चीनको निजी क्षेत्रमाथि कायम बन्धन हटाउनेछ । परिणामस्वरूप अमेरिकालाई चुनौती दिन सक्ने नयाँ उद्योगहरू देखिन थाल्नेछन् । 
 

अमेरिकाको दबाबमा चिनियाँ सरकारी व्यवसायले पाइरहेको सरकारी अनुदान अन्त्य भयो र त्यससम्बन्धी औद्योगिक नीति खारेज भयो भने त्यसले चीनको निजी क्षेत्रमाथि कायम बन्धन हटाउनेछ । यस्तो स्थितिमा अन्य नवीन विचार भएका निजी क्षेत्रको उदय हुने सम्भावना छ । अमेरिकी व्यवसायलाई यी नयाँ उद्योगहरूले चुनौती दिनेछन् । हुन त त्यो प्रतिस्पर्धाबाट अमेरिकी उपभोक्ता लाभान्वित हुनेछन्, तर आवश्यक पर्दा चिनियाँ कम्युनिस्ट पार्टीले तिनलाई आफ्नो राजनीतिक उद्देश्य अघि बढाउन सहयोग माग्नेछ, तिनले अस्वीकार गर्न सक्दैनन् । 

तर, यी सबका बाबजुद अमेरिकी नीतिका लागि चिनियाँ औद्योगिक नीतिको सबैभन्दा खराब पक्षको नक्कल हुन थालेको छ । उदाहरणका लागि हालै अमेरिकी कंग्रेसमा ल्याइएको ‘फ्यासिलिटेटिङ अमेरिकन–बिल्ट सेमिकन्डक्टर एक्ट’ले अमेरिकी चिप निर्माताको लगानीमा कर छुट दिने व्यवस्था गरेको छ ।

यसअघि अमेरिकी सिनेटले ‘युएस इनोभेसन एन्ड कम्पिटिसन एक्ट’ अन्तर्गत जुन महिनामा सेमिकन्डक्टर क्षेत्रलाई ५२ अर्ब डलर लगानी अनुमोदन गर्यो । अमेरिकी सेमिकन्डक्टर उद्योगले यो रकमलाई स्वागत नै गर्नेछ र त्यो किन भन्ने बुझ्न गाह्रो छैन । साधन स्रोत सम्पन्न अमेरिकी चिपनिर्माता सम्बन्धमा उठाइने यो कदमले चीनमै जस्तो ठूलो स्रोत खेर जानेछ । ५२ अर्ब डलर रकमले नयाँ प्रविधि तथा उत्पादनमा सघाउन गर्नेभन्दा पनि त्यस्तो प्रविधिको वाचा गरेर थुप्रै कम्पनी सुरु गराउने बाटो खोल्छ । पछि यसले चिप उद्योगकै क्षति पुर्याउन सक्छ । 

त्यसो भए अमेरिकाले चीन सम्बन्धमा कस्तो कदम चाल्दा उपयुक्त हुन्छ ? २०औँ शताब्दीका अमेरिकी कूटनीतिज्ञ जर्ज एफ केन्ननले उनको जीवनको उत्तराद्र्धमा भनेका थिए, ‘हामी अमेरिकी रुसीहरूले हामीलाई अमेरिकन रहन दिऊन् भन्ने चाहन्छौँ भने हामीले रुसीहरूलाई रुसी रहन दिनुपर्छ ।’ उनको नीति आज चीनको हकमा पनि सान्दर्भिक हुन्छ ।

चीनको सन्दर्भ रुसको भन्दा जेलिएको छ । किनकि, ऊ अधिनायकवादी महाशक्तिका अतिरिक्त बजार अर्थतन्त्र भएको मुलुक हो । चीनसँग अमेरिकाको मुख्य व्यावसायिक चुनौती चीनले त्यहाँको सरकारी फर्मलाई दिने सहयोग तथा औद्योगिक अनुदानबाट आउने छैन । बरु त्यो राष्ट्रिय सुरक्षा र आर्थिक विनियमको उपलब्धिमध्ये एउटा चयन गर्नुपर्ने अवस्थाबाट उत्पन्न हुन्छ । यस्तोमा अमेरिकाले आफ्नै औद्योगिक नीति लागू गर्नु सबैभन्दा खराब विकल्प हुनेछ । 

सुझावित समाचार