वडा अधिवेशनका कारण समग्र कार्यतालिका प्रभावित हुँदैन : कांग्रेस निर्वाचन समिति

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

मंगलबार ७ जिल्लामा मात्र नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ। १४ औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको कार्यतालिकाअनुसार अधिवेशन हुन बाँकी २० मध्ये ७ जिल्लामा मात्र अधिवेशन हुने तय भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा बाँकी १३ जिल्लााको अधिवेशन भने अनिश्चित बनेको छ। निर्वाचन समिति संयाजक महादेवप्रसाद यादवले कार्यतालिकाअनुसार भोलि सदस्यता विवरण सार्वजनिक भएका ७ जिल्लामा अधिवेशन हुने टुंगो लागेको नयाँ पत्रिकालाई जानकारी दिए।

‘सदस्यता विवरण आएका ७ जिल्लामा भोलि अधिवेशन हुने तय भएको छ,’ उनले भने, ‘बाँकी १३ जिल्लाको विवरण टुंगो लाग्ने क्रममा छ। स्थानीय तहको निर्वाचनअगाडि (असोज ९) सबै जिल्लामा अधिवेशन सम्पन्न हुन्छ।’

यादवले वडा अधिवशनका कारण समग्र कार्यतालिका प्रभावित नहुने दाबी गरे । ‘५७ जिल्लाको  वडा अधिवेशन भइसकेको छ। सातवटामा भोलि हुन्छ। बाँकीमा भदौ ९ अगाडिसम्म निर्वाचन सम्पन्न हुन्छ। यसले कार्यतालिका प्रभावित हुँदैन,' उनले भने।

मंगलबार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुँदै छ।

सुझावित समाचार