सरकारले शुक्रबारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ। दसैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।
सहुलियत पसलहरूमा नुन, तेल, दाल, चामल, चिनी, मार्सी चामल, चिउरा, आँटालगायतका दैनिक उपभोग्य खाद्य सामग्रीहरू बिक्रीका लागि राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् । काठमाडौंमा थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकलगायतका विभिन्न स्थानमा सहुलियत पसल राखिएको छ । बिक्री काउन्टरबाट भौतिक उपस्थितिमा नै सामान बिक्री गर्ने व्यवस्था गरिएको छ ।
चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ, खाने तेलमा प्रतिलिटर पाँचदेखि १० रुपैयाँ, कर्णालीको सिमी, फापरको दाना, जिउँदो खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको उनले जानकारी दिइन् । आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल देशभर आगामी कार्तिक २४ गतेसम्म चल्नेछन् ।