सती जानुभन्दा कम छैनन्, महिलाका पीडा

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

भर्खरै नेपाली महिलाले तिज मनाए । सुदूरपश्चिमका महिलाले धुमधामसाथ गौरा पर्व मनाए । तर, सबै नेपाली महिला त्यति भाग्यमानी छैनन् । यी र यस्तै चाडपर्व, मेलापात, बिहेबारी इत्यादिमा रमाउन गएका महिलामाथि नै दुव्र्यहार हुने गरेका अनेकौँ घटना छन् यहाँ । २१ साउनमा अर्घाखाँची शीतगंगा नगरपालिका–२, झिर्राकी २१ वर्षीया सिर्जना सुनारले आफ्नै कोठाको पंखामा पासो लगाएर प्राण त्यागिन् । सप्तरी सुरंगा–७ पोखरियाकी २० वर्षीया ज्योति पासवानलाई उनका श्रीमान्ले होटेलको कोठामा छाडेर आफू बेपत्ता भएपछि उनले माइतीमा गएर सलको पासो लगाई आत्महत्या गरिन् । 

निर्मला पन्त, भागरथी भट्ट, सम्झना विकजस्ता अनेकौँ दिदीबहिनी महिला भएर जन्म लिएकै कारण निर्दयतापूर्वक मारिएका छन् । महिला भएर जन्मन खोज्ने गर्भलाई नै खोजी–खोजी हत्या गर्ने समाजमा महिलालाई जन्मपश्चात् पनि प्रत्येक पाइलामा पीडा दिइन्छ । महिलालाई महिनावारी हुँदा छाउगोठमा सुत्न पठाइन्छ । त्यति मात्रै होइन, पाँच दिनसम्म रुखो, सुखो खान दिइन्छ, तर काम भने अरू वेलाभन्दा चर्को गराइन्छ । बिहे, ब्रतबन्ध, पूजापाठ, मठ, मन्दिर, जन्म, मृत्यु भएका ठाउँमा जान बन्देज गरिन्छ ।

प्राणभन्दा प्यारा आमाबुबा, भाइबहिनी, सर्वस्व छोडेर आफ्नो पढाइ, सीप, कलाकौशल बोकेर, माइती पक्षलाई आर्थिक बोझ थप्दै सकेजति धनसम्पत्ति बोकेर एक चेली अन्जान घरमा पुग्छिन् । मन, वचन तथा कर्मले आफूले सकेजति ससुराली पक्षको रातदिन सेवा गर्छिन् । तैपनि कतिपय परिवारमा सित्तैँमा पाएको दाइजोको लोभ बढ्दै जान्छ । बिहेपछि पनि महिनौँ, वर्षौंसम्म बुहारीसँग दाइजो ल्याउन भन्दै नयाँ–नयाँ ‘डिमान्ड’ राखिन्छन् । फेरि पनि ससुराली पक्षले भनेजति धनसम्पत्ति ल्याउन नसकेपछि बुहारीमाथि कुटपिट, यातना सुरु हुन्छ ।

यति हुँदा पनि माइती पक्षलाई आफ्नो अवस्था देखेर पीडा हुन्छ भन्दै छोरीहरू ससुरालीमै सबै यातना सहेर बस्न बाध्य हुन्छन् । यसको फाइदा उठाउँदै परिवारले बुहारीलाई मर्न, मार्न वा घर छोड्न बाध्य बनाउँछन् । केही वर्षअगाडि दाइजो नल्याएको निहुँमा सिराहा घर भएकी कञ्चन मण्डलमाथि उनका परिवारले मट्टितेल खन्याएर आगो लगाए । आधा शरीर जलेपछि पीडाले छट्पटिँदै केही दिनपछि उनको मृत्यु भयो । साउनमा बझाङकी २१ वर्षीया जानकी नेपालीमाथि उनका श्रीमान्ले निर्घात कुटपिट गरी कानै काटिदिए । रुपन्देही तिलोत्तमाकी एक महिलालाई उनकै श्रीमान्ले शरीर बेच्न भारतको दिल्ली पु¥याए । 

त्यसैगरी दुई वर्षअगाडि वीरगन्जकी सुनिता यादवको उनका डाक्टर श्रीमान्ले बीस लाख दाइजोले नपुगेर मारुती कार ल्याउन भन्दै निर्घात कुटपिट गर्दा मृत्यु भयो । विश्व रफ्तारमा एक्काइसौं शताब्दीमा दौडिरहेको छ । पुराना कुरालाई सुधार्दै नयाँ कुराको खोजी तथा आविष्कार भइरहेको छ । हामी भने मानव सभ्यतालाई नै लज्जित तुल्याउने उही दाइजो, बोक्सी, जातपात छाउपडी जस्ता कुरीतिलाई झनै अँगाल्दै गइरहेका छौँ । पैसाको लोभमा परेर आफ्नै छिमेकी, नातेदार, श्रीमती, चेलीबेटीलाई समेत देश, विदेशमा लगेर बेच्ने, जबर्जस्ती यौनधन्दामा सामेल गराइएका कैयौँ घटना हाम्रै समाजमा देखिन्छन् । 

महिला भएर जन्मन खोज्ने गर्भलाई नै खोजी–खोजी हत्या गर्ने समाजमा महिलालाई जन्मपश्चात् पनि प्रत्येक पाइलामा पीडा दिइन्छ
 

महिलाका पीडा यत्तिमै मात्रै सीमित छैनन् । वेलावेलामा बोक्सीको आरोपमा महिलालाई मलमूत्र, खुवाउँदै, लखेट्दै गाउँनिकालासम्म गरेका घटना दोहोरिरहन्छन् । यही साउन १७ गते इटहरीकी एक एकल वृद्धालाई बोक्सीको आरोपमा कुटपिट गर्दै कपाल समातेर डेढ किलोमिटर घिसारे । दुई वर्षअगाडि इनरुवामा पनि आफन्तको घरमा भोज खान गएकी महिलामाथि बोक्सीको निहुँमा कुटपिट गरिएको थियो । आफ्नो मनमस्तिष्कबाट रुढिवादी सोच हटाउन मानिसहरू तयार हुँदैनन् । बरु त्यसलाई बढावा दिनुमा आफूलाई ठूलो ठान्छन् । आफ्नो चाहना पूरा नभएपछि एसिड प्रहार गर्दै कलिला किशोरीको जीवन कष्टपूर्ण बनाइदिने दानवसमेत हाम्रै समाजमा भेटिन्छन् । 

दाइजो मागे तीन वर्ष जेल र ३० हजार जरिवान हुने कानुन छ । त्यसैगरी एसिड तथा तेजाब प्रयोग गरी ज्यान लिएमा, अंगभंग गराएमा पीडकलाई २० वर्षसम्म जेल र १० लाखसम्म जरिवाना गराउने नयाँ कानुनले व्यवस्था गरेको छ । पीडित पक्षको हकमा बनाइएको यो कानुन अझै पारित हुन भने सकेको छैन । महिनावारी भएका महिलालाई छाउपडी गोठमा बस्न बाध्य गराउनेलाई तीन महिना कैद र जरिवानाको व्यवस्था भए पनि कैयौँ महिला अहिले पनि छाउघरमा सुत्न बाध्य छन् । अहिलेसम्म एकजनालाई मात्रै कानुनअनुसार सजाय भएको छ । कसैमाथि बोक्सीको आरोप लगाएर सजाय दिनेलाई कानुनअनुसार ६ महिनादेखि ८ वर्षसम्म कैद र पाँच हजारदेखि एक लाखसम्म जरिवान हुने उल्लेख छ । 
सभ्य समाज निर्माण गर्न सबैलाई समान रूपमा हेरिनुपर्छ । महिला, पुरुष, सानो, ठूलो नभनी दोषीलाई सजाय दिन घर, परिवार, समाज तथा सरकार पछि हट्नु हुँदैन । 

See More On

सुझावित समाचार