९५ करोड लगानीमा बुढानीलकण्ठमा चारतारे बुटिक होटेल पबेरा सञ्चालनमा

आन्तरिक पर्यटक लक्षित प्याकेज

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

काठमाडौंको बुढानीलकण्ठमा ९५ करोड रुपैयाँ लगानीमा चारतारे बुटिक होटेल ‘पबेरा’ सञ्चालनमा आएको छ । परम्परागत नेपाली वास्तुकलामा आधारित भएर सञ्चालनमा आएको होटेलमा ६२ कोठाहरू रहेको सञ्चालक राधेश्याम थापाले जानकारी दिए । ‘यो होटेलले नेपाली संस्कृतिलाई आधार मान्दै आधुनिक सुविधाहरूसमेत दिनेछ,’ थापाले भने । 

नयाँ सामग्री र परम्परागत र कलात्मक सजावटका कारण होटेल आकर्षक बनेको उनले बताए । ‘यो होटेलको बाहिरी आवरण जति आकर्षक छ, भित्री सजावट पनि रोयल लुक्समा आधारित छ, स्थानीय उत्पादनका सामग्री, हस्तकला प्रयोग गरिएको छ,’ उनले भने ।

गत असार अन्तिमबाट सञ्चालनमा आएको होटेलले आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न प्याकेज ल्याएको जनाएको छ । होटेलले पाहुनाहरूका लागि वेलकम ड्रिंक्स, अन्तर्राष्ट्रिय ग्रिल परिकार र रोस्ट बार्बिक्यु, राष्ट्रिय बार्बिक्यु, सेकुवा, छोइला र मःमलगायतका परिकारको व्यवस्था गरेको जनाएको छ । त्यस्तै, बफे डिनरका साथमा भारतका प्रसिद्ध मिठाईका परिकारहरूको व्यवस्था गरेको जनाइएको छ । 

होटेलले २५ सय रुपैयाँमा स्विमिङपुलसहितको प्याकेज ल्याएको छ । यो प्याकेजमा बिहान ब्रेकफास्ट र साँझ ६ बजेदेखि नौ बजेसम्मका लागि क्यान बियर र असीमित बार्बिक्युको व्यवस्था गरिएको छ । 

सुझावित समाचार