नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसिसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि ‘विषसरह’ हुने टिप्पणी गरेका छन्।
नेकपा एमालेका सांसदहरूको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे द्विविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरूलाई समेत आग्रह गरे। नेपाल भ्रमणमा आएकी एमसिसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सयथरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए।
‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै हो। यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन्। यो संघीय संसद्का सबै माननीयहरू द्विविधामा पर्नु आवश्यक छैन,‘ उनले भने, ‘बूढो बाघले सिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ। विष भनी थाहा पाईकन खाए के हुन्छ ? एमसिसी त्यही हो।’