बालगोपाल महर्जनले नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली सम्हाल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ताजिकास्तामा हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि बालगोपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । प्रतियोगिता १ देखि १९ जुन २०२२ मा उज्वेकिस्तानमा हुनेछ । छनोट चरणका खेल अक्टोबर २०२१ बाट हुँदै छन् ।
नेपालले पाँचौँपटक एएफसी यू–२३ कप छनोटमा सहभागिता जनाउन लागेको हो । सिनियर तथा उमेर समूहमा बालगोपाल अनुभवी प्रशिक्षकका रूपमा चिनिन्छन् । बालगोपालले यू–२३ टोली सम्हाल्न लागेको यो दोस्रोपटक हो । उनले नेपालको सबै टोली सम्हालिसकेका छन् । गत चैतमा एन्फाले सिनियर टोलीमा अब्दुल्लाह अलमुताइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिनुअघिसम्म पनि बालगोपालले नै टोली सम्हालेका थिए ।
बालगोपालकै प्रशिक्षणमा नेपालले बंगलादेशलाई फाइनलमा २–१ ले हराउँदै घरेलु मैदान दशरथ रंगशालामा थ्री नेसन्स कपको उपाधि जितेको थियो । थ्री नेसन्स कपलगत्तै एन्फाले बालगोपाललाई हटाउँदै अब्दुल्लाहलाई सिनियर टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । फिफा र एसियन फुटबल महासंघ (एएफसी)ले विश्वकप छनोट निमित्त कुनै पनि राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बन्न अनिवार्य रूपमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने जनाएको छ । यही नियमका कारण एन्फाले प्रो लाइसेन्स प्राप्त कुवेतका अलमुताइरीलाई बालगोपालको स्थानमा नियुक्त गरेको थियो । नेपालले सन् २०२२ को विश्वकपअन्तर्गत एसियन छनोटका सबै खेल कुवेतमा प्रतिस्पर्धा गर्यो । नेपालले दोस्रो चरणको खेलमा चाइनिज ताइपेईलाई मात्र पराजित गर्यो ।
फेरि यू–२३ टोलीको मुख्य प्रशिक्षणमा फर्किएका बालगोपाललाई एसियन कप छनोटको तयारी तथा सहभागितामा रोजित केसीले सहायक प्रशिक्षकमा र गोलरक्षक प्रशिक्षणमा ललित चन्दले सहयोग गर्ने एन्फाले जनाएको छ । नेपाल एसियन यू–२३ एसियन कपको छनोटअन्तर्गत समूह बीमा छ । यस समूहमा नेपालले इरान, लेबनान र ताजकिस्तानसँग खेल्नेछ ।
नेपालले आगामी ८ कात्तिकमा इरानसँग पहिलो खेल खेल्नेछ भने ११ कात्तिकमा ताजिकिस्तान र १४ कात्तिकमा लेबनानविरुद्ध खेल्नेछ । छनोट प्रतियोगिताका सबै खेल ताजिकिस्तानको दुसान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा हुने एएफसीले जनाएको छ । प्रतियोगिताको नियमअनुसार प्रत्येक समूहको शीर्ष टोलीले सीधै अन्तिम प्रतियोगितामा स्थान बनाउनेछन् । यस्तै उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने शीर्ष चार टोली पनि छनोट हुनेछन् ।
नेपालले अहिलेसम्म एएफसी छनोट चरण पार गर्न सकेको छैन
एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । एएफसीले एसियाको पूर्वका १९ र पश्चिमका २३ टोली समावेश गरी ११ समूह बनाएको हो । यसैबीच समूह केबाट उत्तर कोरियाले नाम फिर्ता लिएको छ । यस समूहमा अब तीन टोली छन् । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाटै घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । एएफसीले पूर्व तथा पश्चिम क्षेत्रका फुटबल टोलीको स्तर उस्कान सन् २०१३ देखि नै एएफसी यू–२३ एसियन कप प्रतियोगिता सुरु गरेको हो ।
फेरि यू–२३ टोलीको मुख्य प्रशिक्षणमा फर्किएका बालगोपाललाई एसियन कप छनोटको तयारी तथा सहभागितामा रोजित केसीले सहायक प्रशिक्षकमा र गोलरक्षक प्रशिक्षणमा ललित चन्दले सहयोग गर्ने एन्फाले जनाएको छ ।
अहिलेसम्म भएका चारवटा संस्करणमा नेपाल दोस्रो चरणमा पुग्न सकेको छैन नेपालले चारैपटकको छनोट खेल गुमाएको छ । प्रतियोगिता तथ्यांकअनुसार दक्षिण कोरिया, इराक, उज्वेकिस्तान र जापानले एक–एकपटक उपाधि जितेका छन् । साउदी अरेबिया सन् २०१३ र २०२० संस्करणको उपविजेता हो ।
भियतनाम र दक्षिण कोरिया समान एकपटक उपविजेता बनेका छन् । यसपटक उज्वेकिस्तानले आयोजकका रूपमा अन्तिम चरणमा स्थान पक्का गरेको छ । प्रतियोगिताको अन्तिम चरणमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल दुई वर्षे विश्वकपको पक्षमा
फिफाले प्रत्येक चार–चार वर्षमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्छ । गत मे महिनामा फिफाको कंग्रेस बैठकमा विश्वकप फुटबल प्रतियोगिता प्रत्येक चार वर्षको सट्टा दुई वर्षमा हुनुपर्ने प्रस्ताव भएको थियो । यसमा युरोपियन तथा दक्षिण अमेरिका राष्ट्रहरूले फिफाको यस प्रस्तावको विरोध जनाएका थिए । फिफाले विश्वकप आयोजना सम्बन्धमा प्रत्येक फुटबल संघसँग आफ्नो धारणा माग गरेको छ । यसैक्रममा दक्षिण एसियाबाट नेपालसँगै अन्य तीन राष्ट्रले विश्वकप प्रत्येक दुई वर्षमा हुनुपर्ने पक्षमा मत राखेका छन् । दक्षिण एसियाबाट बंगलादेश, श्रीलंका र माल्दिभ्स पनि फिफाको दुईवर्षे विश्वकप प्रस्तावको समर्थन गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
दुई वर्षे विश्वकप आयोजनामा अहिलेसम्म एक सय ६६ देशहरूले समर्थन जनाएका छन् । दक्षिण एसियाका चार राष्ट्रहरूले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना हुनुपर्ने तर्कसहित संयुक्त विज्ञप्ति निकालेका छन् । ‘प्रत्येक चार वर्षमा विश्वकपदेखि छनोट प्रतियोगिताको यात्रा लामो देखिन्छ,’ उनीहरूले संयुक्त रूपमा आफ्नो भनाइ राखेका छन्, ‘छोटो समयमा प्रतियोगिता आयोजनाले सबैले मौका पाउन सक्छ ।’
फिफाले विश्वकपमा एसियाबाट चार राष्ट्रको कोटा छुट्याइएको छ । एसियन विश्वकप छनोटको पाँचौँ स्थानमा रहने टोलीले प्ले अफको आधारमा स्थान बनाउने प्रावधान छ । दुई वर्षमा विश्वकप आयोजना गरिँदा फुटबल विकास हुने तर्क नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सले राखेका छन् । ‘चार वर्षको अन्तरमा विश्वकप आयोजना हुँदा अर्को चार वर्षमा प्रतिभावान् खेलाडीले मौका गुमाउने सम्भावना उत्तिकै हुन्छ,’ संयुक्त रूपमा निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘दुई–दुई वर्षमा विश्वकप आयोजना हुँदा प्रतिभावान् खेलाडीले धेरै अवसर पाउन सक्छ ।’ आगामी विश्वकप फुटबल प्रतियोगिता अर्को वर्ष कतारमा हुँदै छ ।