धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सोमबार पुनः उच्च अंकले उकालो लागेको छ। आइतबार उच्च अंकले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भएको हो। अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका सम्बन्धमा देखिएको अन्योल समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६१.९४ बिन्दुले उकालो लागेर दुई हजार नाै सय ८०.७९ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३१.४१ बिन्दुले उकालो लागेर ५५३.४० मा पुगेको छ। कुल दुई सय २४ कम्पनीको एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता सेयर एक लाख नौ हजार एक सय ८२ पटक कारोबार भयो। नेप्सेका अनुसार कुल नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात रुपैयाँमा खरिद–बिक्री भए।
कारोबार भएका सबै १३ उपसमूहको सेयर उकालो लागेको छ। बैंकिङ ७८.२, व्यापार १३३.०३, होटेल तथा पर्यटन १९४.८३, विकास बैंक ५०३.३६, जलविद्युत् २८३.५, वित्त २५६.२२, निर्जीवन बिमा ६४३.६३, उत्पादन ३९८.११, अन्य १५०.२५, लघुवित्त २४१, जीवन बिमा ८१७.४, सामूहिक लगानी कोष ०.१७ र लगानी उपसमूह ६.६७ बिन्दुले बढेको छ।
सोमबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार एक सय एक पुगेको छ। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको ४६ करोड ३० लाख ९१ हजार चार सय ५६ रुपैयाँको कारोबार भयो। हिमालयन डिस्टिलरी २६ करोड ८८ लाख ९६ हजार ३१३, माथिल्लो तामाकोसी २४ करोड ९२ लाख ४८ हजार पाँच सय ४२, नेसनल हाइड्रोपावर १९ करोड ९९ लाख ३२ हजार र आइसिएफसी फाइनान्स १९ करोड ८७ लाख ३६ हजार सात सय २१ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
६० कम्पनीको सेयरमा सकारात्मक सर्किट
बाउन्स ब्याक भएको नेप्सेमा आज ६० कम्पनीको सेयर मूल्य झन्डै १० प्रतिशतले वृद्धि भएको छ। त्यसमा ४५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। नेप्सेमा यो पनि नयाँ इतिहास हो। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र १.९४, आइसिएफसी फाइनान्स १.७४, एनआइसी एसिया बैंकको ऋणपत्र १.७१, सनराइज ब्लुचिप फन्ड ०.५९ र कुमारी इक्विटी फन्डका लगानीकर्ताले ०.४९ प्रतिशतले गुमाए। रासस