स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बूढानीलकण्ठ

पर्यटकीय स्थल

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

 शिवपुरी निकुञ्ज 
समुद्री सतहबाट एक हजार तीन सय ५० मिटरदेखि दुई हजार सात सय ३२ मिटर उचाइसम्म फैलिएको शिवपुरी निकुञ्ज यस क्षेत्रको सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थल हो । देशका २० वटा संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी पर्यटक यसै क्षेत्रमा आउने गरेका छन् । यसबाट स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुगेको छ । यस क्षेत्रमा शिव भगवान्को तपोभूमि शिवपुरी चुचुरो, बागद्वार, विष्णुद्वार रहेका छन् । मध्य पहाडलाई प्रतिनिधित्व गर्ने एक मात्र राष्ट्रिय निकुञ्ज पनि यही हो । यस क्षेत्रमा ध्वाँसे चितुवा, चरीबाघ, सालक, पहरे बाँदरजस्ता संरक्षित स्तनधारी वन्यजन्तु र चितुवा, हिमाली कालो भालुजस्ता वन्यजन्तुका साथै काँडे भ्याकुरलगायत तीन सय १८ प्रजातिका चरा पाइन्छन् ।  
 बागद्वार
बागद्वार शिवपुरी निकुञ्जभित्र पर्ने बागमती नदीको मुहान हो । हरेक वर्षको वैशाख १ गते यहाँ विशेष मेला लाग्छ । धार्मिक मान्यताअनुसार भागीरथी नदीले समुद्र भरिएर संसार डुबाउन लागेपछि पार्वती माताले संसारलाई जोगाउन भागीरथीलाई रोकिन् । पुनः पवित्र नदीको आवश्यकता परेपछि भगवान् शिवले बागमतीको सृष्टि गरेका हुन् । त्यसै क्षेत्रमा १४ वर्षदेखि तपस्यारत ॐ बाबाका अनुसार बागद्वारमाथिको शिवपुरी चुचुराको तल भूमिगत पोखरी छ । त्यसैको पानी बागद्वार भएर निस्कने गर्छ । बागमती नदीको उद्गम बिन्दु बागद्वार, बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको शिरको नामबाट बागमती प्रदेश नामकरण भएको छ । 
 विपश्यना ध्यानकेन्द्र
यो बूढानीलकण्ठ मन्दिरभन्दा केही माथि मुहानपोखरीमा रहेको छ । यहाँ शान्त ध्यान–साधना अभ्यास गराइन्छ । यो बुद्धका ज्ञानमा आधारित रहेको छ । एक वर्षमा २३ टोलीले साधना गर्ने अवसर पाउँछन् । दसैँको समयमा सरकारी कार्यालयहरू बिदा हुने भएकाले कर्मचारीलाई साधना गर्न सहज होस् भनेर नेपाली नागरिकलाई मात्र साधना गराइने गरेको छ । ध्यान–साधना रुचाउने र शुभचिन्तकहरूको दान–दातव्यबाटै ३९ रोपनी क्षेत्रफलमा यो संरचना निर्माण भएको छ ।
 नागी गुम्बा
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको गर्भमा अवस्थित यो गुम्बालाई प्राकृतिक सौन्दर्यले छपक्कै छोपेको छ । जंगलको बीचमा रमणीय डाँडामाथि अवस्थित यो गुम्बासम्म पुग्न सडक सुविधा पनि छ । तलबाट निस्कँदा गुम्बा नपुगुन्जेल यो घनघोर जंगलमा मानवीय उपस्थितिको कल्पना पनि गर्न सकिन्न । गुम्बा ठूलो क्षेत्रफलमा फैलिएको छ । हजारौँ मानिस अटाउन सक्ने यो पूर्वाधार हेर्न लायक छ । यहाँ सयौँ विद्यार्थी आवासीय रूपमा बौद्ध धर्मको अध्ययन गरिरहेका हुन्छन्  ।
 विष्णुद्वार
बूढानीलकण्ठ नगरपालिका–१ को पानीमुहान निकुञ्जको प्रवेशद्वारबाट दुई सय मिटरमा सुन्दरीजल–टोखा सडक भेटिन्छ । त्यहाँबाट दुई किलोमिटर पश्चिमदेखि विष्णुद्वारको संकेत भेटिन सुरु हुन्छ । सडकमाथि थुम्कोमा पुगेपछि दायाँतिर सफा र कञ्चन नदी देखिन्छ । विष्णुमती नदीको मुहान विष्णुद्वार पुग्दा आउने रमणीय उकालो र हरियाली अनि दिउँसै साँझ परेजस्तो अँध्यारो खोँचले यहाँको यात्रा अविस्मरणीय बनाउँछ । शिवपुरी दायाँतर्फका सयौँ स–साना सिम स्रोतबाट एकीकृत भई विष्णुद्धार (विष्णु पादुका) बाट विष्णुमती नदीको उद्गम स्थल हेर्न उपत्यकावासीको भिड लाग्ने गरेको छ । 
 बूढानीलकण्ठ मन्दिर
बूढानीलकण्ठ मूर्तिबारे विभिन्न कथा–कहानीका किंवदन्ती रहिआएका छन् । राजा र उनका उत्तराधिकारीले दर्शन गर्न नहुने मान्यता रहेको उक्त मूर्तिबारे एक राजालाई वृद्धावस्थामा बद्री–केदारको दर्शन गर्न सहज नभएपछि भगवान्ले विश्वकर्मालाई आज्ञा दिएर बूढानीलकण्ठको मूर्ति बनेको र भीमले त्यस ठाउँमा प्रतिस्थापन गरेको मान्यता छ । नीलकण्ठ नामका वृद्ध किसानले पुरिएर रहेको अवस्थामा मूर्ति फेला पारेकाले वृद्ध नीलकण्ठ नामले बोलाउँदा–बोलाउँदै अपभ्रंश भई बूढानीलकण्ठ भएको मान्यता पनि छ । नगरपालिकाको नाम नै यसै मूर्तिका नाममा रहेकाले यसको महत्व अनुमान लगाउन सकिन्छ । 
 कपनगढी र कपन गुम्बा
कपन गुम्बाभित्र सुन्दर चिटिक्क परेको मन्दिर छ । मन्दिरवरिपरि भक्तजन बस्न मिल्ने आँगन बनाइएको छ । यो गढी पृथ्वीनारायण शाहले काठमाडौं विजयपूर्व बनाएको किंवदन्ती छ । राजाले आफ्नो गण भएको हरेक ठाउँमा भगवती मन्दिर बनाउने गरेको इतिहास छ । गुम्बाका कर्मचारीका अनुसार पहिले स्थानीयले शिलामा पूजा गर्ने गरेकाले गुम्बा बनाउँदा मन्दिर पनि निर्माण गरिएको हो । गुम्बा सुन्दर र मनमोहक छ । कपनमा रहेका गुम्बाहरू पनि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै छन् । 
 धनेश्वर फुटबल मैदान
वडा नम्बर–४, पासिकोटमा निर्माणाधीन रहेको धनेश्वर फुटबल मैदान पनि बूढानीलकण्ठको पर्यटकीय क्षेत्र बन्नेमा यहाँका पदाधिकारी विश्वस्त छन् । खेल पर्यटनको एक आकर्षक गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको उनीहरू बताउँछन् ।  यसबाहेक बूढानीलकण्ठ नगरपालिकामा विभिन्न धार्मिक, पर्यटकीय स्थलहरू रहेका छन् । मठ–मन्दिरमा लाग्ने मेला, पर्वबाहेक यहाँका अन्य पर्यटकीय स्थलमा कामधेनु शिला, शतरुद्रेश्वर महादेव, खड्ग भद्रकाली मन्दिर, नौलिन भद्रकाली मन्दिर, रुद्रेश्वर महादेव, पञ्चकुमारी मन्दिर, कपन बंगलामुखी मन्दिर, चुनदेवी मन्दिर, पुतली डाँडागढी र गुफा, अप्सराघाट, खप्तड बाबा समाधिस्थल, विष्णुमती झरना, धोबी ढुंगा, सुवर्णशमशेर क्रिकेट मैदान, धोबी खोला जलाशय र वाटरपार्क, तारेभिर आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा रहेका र अझै विकास गर्दै लैजान सकिने सम्भावना भएका ठाउँ हुन् ।

सुझावित समाचार